देश/प्रदेश
स्वर्णलक्ष्मी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध मुद्दा, कांग्रेस सांसद राईलाई उन्मुक्ति

काठमाडौं, पुस २२-
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ। स्वर्णलक्ष्मीको सहसचिव रहेकी कांग्रेस सांसद माया राईलाई भने सोधपुछ नै नगरी उन्मुक्ति दिइएको छ । राईसहित पाँच जना विरुद्ध मुद्दा दायर गरिएको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा ३९ जनाविरुद्ध दुईवटा कसुरमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगी र संगठित अपराध नियन्त्रण ऐन २०७० अनुसार सजाय मागदाबी गरिएको छ।
लामिछानेलगायत प्रतिवादीहरूका हकमा कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेकाले दोहोरो पर्ने हुँदा तत्काल सजाय मागदाबी नगरिएको अभियोजनपत्रमा उल्लेख छ। तर पछि थप खुलिआएको बखतमा कानुनबमोजिम गरिने भनिएको छ। अभियोजनपत्रमा ३९ जना प्रतिवादीबाट एक अर्ब १९ करोड ९५ लाख बिगो भराउन माग दाबी गरिएको छ। उक्त बिगो रकम ९३ वटा जाहेरी दिएका ६ सय ९० जना बचतकर्ताको हिनामिना भएको रकम रहेको अभियोगपत्रमा उल्लेख छ।
कोको छन् प्रतिवादी ?
सरकारी वकिलको कार्यालय काठमाडौंले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक लामिछाने, छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्षसमेत रहेका गीतेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दीपक लामाविरुद्ध मुद्दा दर्ता गराएको छ।
त्यस्तै उक्त सहकारीकै पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको छ।
यसैगरी जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्दिकी, नेचर नेष्ट प्रालिका सञ्चालक अनन्तबाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देवदीप एग्रिकल्पचर एनड एनिमल हस्वेन्ड्री फार्मका सञ्चालक भुपेन्द्र राई, भवती बालुवाखानी प्रालिका सञ्चालक मुखिया कान्छा गुरुङलाई पनि प्रतिवादी बनाइएको छ।
त्यस्तै अभियोजनपत्रमा गोर्खा हर्बल प्रोडक्सन प्रालिका सञ्चालक जनक भट्टराई, स्पिङ उड रियलस्टेट प्रालिका सञ्चालक भगवती बम्जन, न्यु सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड प्रालिका सञ्चालक किरण पुडासाई, गोरखा ग्रुप अफ कम्पनीका शेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका सेयर सदस्य कृष्णबहादुर पोखरेललाई पनि प्रतिवादी कायम गरिएको छ।
पाँचजनालाई मुद्दा चलाइएन
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार ४४ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गर्दै सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले तीमध्ये पाँचजनालाई मुद्दा लगाएको छैन।
मुद्दा नचलाइएकामा यामकुमार नाल्बो, माया राई, सुजल श्रेष्ठ, मीरा बम्जन र पुनमकुमार चालिसे छन्। सरकारी वकिलको कार्यालयले पूरा ठेगाना नखुलेकाले उनीहरूलाई तत्काल प्रतिवादी नबनाइएको जनाएको छ। उनीहरूमाथि अनुसन्धान जारी नै रहेकाले पछि मुद्दा दायर हुने सरकारी वकिल कार्यालय स्रोतले बतायो। आजको नागरिक दैनिकमा समाचार छ ।

























