देश/प्रदेश
पक्राउ पुर्जी जारी भएपछि सार्वजनिक लेखा समितिका सभापतिले हटाए स्वकीय सचिव

काठमाडौँ, पुस १९-
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएका अनिल कुमार पोखरेललाई आफ्नो स्वकीय सचिवको जिम्मेवारीबाट निकालेका छन्।
सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई स्वकीय सचिवबाट हटाइएको जानकारी दिएका हुन्।
अनुसन्धानमा सहयोग पुगोस् भनेर अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरिएको सभापति पोखरेलले उल्लेख गरेका छन्। मोरङको रंगेली नगरपालिका-२ घर भई हाल काठमाडौँ बस्ने अनिल पोखरेल ३८ लाख ३० हजार रुपैयाँ ठगीमा जोडिएका हुन्। उनलाई पक्राउ गरेर अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको हो।
अनिलले एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको आरोप लागेको हो। छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भनी अनिलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-५ बकधुवा निवासी बौआलाल चौधरीको छ।
























