देश/प्रदेश
मकवानपुर भीमफेदीको तारेभिरमा फसेका चार जनाको सकुशल उद्धार
मकवानपुर, पुस १७-
भीमफेदीको तारेभिरमा फसेका चार जनालाई सेना–प्रहरीले गरे सकुशल उद्धार गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनालाई सेना र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । सेना र प्रहरीको संयुक्त टोलीले चारै जनालाई मंगलबार साँझ ५ बजेतिर सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको इलाका प्रहरी प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।
मंगलबार दिउँसो करिब सवा तीन बजे टेलिफोनमार्फत् काठमाडौं महानगरपालिका २ बस्ने ३६ वर्षीया मधुलिका सिंह ठकुरी, ३५ वर्षीया निर्जला शाक्य, ३४ वर्षीया सिर्जना महर्जन र २४ वर्षीय पुकार सिलवाल तारेभिरमा फसेको जानकारी प्रहरीले पाएको थियो । लगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहाल नेतृत्वको चार जनाको टोली उक्त स्थानमा खटिएको थियो ।
इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब १५ किलोमिटर पश्चिम उत्तरतर्फ पर्ने उक्त स्थानमा प्रहरी टोली डोरी, हसिया, फलामको रड लगायतका उद्धार सामग्री सहित गएको थियो । तर प्रहरीले मात्र उद्धार गर्न नसकेपछि नेपाली सेनाको बेसक्याप्प महादेवटारका सुबेदार सिताराम कार्की नेतृत्वमा ७ जनाको थप टोली उद्धारमा परिचालित भएको थियो ।