राजनीति

गाउँ-गाउँमा विकास ल्याउन सरकार लागिपरेको छः सञ्चारमन्त्री गुरुङ

Banner

लम्जुङ, पुस १४
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले जातजाति, धर्म र संस्कृतिलाई बराबरका रूपमा हेरेको बताएका छन्।

लमजुङ बेँसीसहर नगरपालिका–७ मा तमु ल्होसार-२०८१ का अवसरमा तमु ह्युल छोंज धीं लमजुङको आयोजनामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले २०६२र६३ सालको आन्दोलनपछि नयाँ संविधान निर्माण गर्दै मुलुकलाई धर्म निरपेक्ष राज्य बनाएको स्मरण गरे। सबैले एक अर्काको धर्मसंस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

सञ्चारमन्त्री गुरुङले सहकारीको वर्गीकरण हुनुपर्ने उल्लेख गर्दै सहकारी नियमनकारी बनाएर सरकार अघि बढ्ने बताए। सहकारीले निश्चित ठाउँमा मात्रै कारोबार गर्न पाउनेगरी नियमनकारी गठन गरेर तोक्ने उनको भनाइ थियो।

स्थानीय तहमा सञ्चालन गर्ने, स्थानीय तहमा दर्ता, प्रदेशमा सञ्चालन हुने प्रदेशमा र केन्द्रमा सञ्चालन हुने सहकारी केन्द्रमा दर्ता भएर मात्रै सञ्चालन हुनुपर्नेमा उनले जोड दिए।

सहकारीमा दोषी देखिए जो कोहीलाई पनि कानुनी कारबाही हुने सञ्चारमन्त्री गुरुङले उल्लेख गरे। संविधान संशोधन प्रमुख ठूला दलहरूको सहमतिमा हुने पनि दोहोर्‍याए। गाउँ गाउँमा सबै जनताले अनुभूति गर्नेगरी विकास निर्माणका कार्यमा सरकार लागिपरेको उनले सुनाए।

सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्न सकेमा देशको अरबौँ रुपैयाँ राजस्व बचत हुने बताए। नेपालमा हुलाक टिकटसमेत आफ्नो प्रेसमा छाप्न सकिएको अवस्था नरहेको भन्दै मन्त्री गुरुङले वर्तमान सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर आफ्नै प्रेस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए।

प्रेस सञ्चालनमा देखिएका समस्या र अवरोधहरुलाई समाधान गरेर सरकारले यसलाई छिट्टै प्रक्रियामा लैजाने मन्त्री गुरुङको भनाइ थियो। प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेमा हुलाक टिकट, लेबल–स्टिकर, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमति पत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र, राहदानी, बैङ्क नोट छाप्न विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने उनले जिकिर गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>