देश/प्रदेश
सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण
काठमाडौँ, पुस १३-
दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ सञ्चालन भएको छ । सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गर्नुभयो ।
सो क्रममा महानिरीक्षक अर्यालले ग्रासरुट फुटबल प्रशिक्षणले बालबालिकाहरुको बौद्धिक, भावनात्मक र शारिरीक विकासमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । यसअन्तर्गत ६ देखि १५ वर्षसम्मका बालवालिकालाई फुटबल प्रशिक्षण दिएर उत्कृष्ट खेलाडी उत्पादन गर्ने राखिएको छ ।
महानिरीक्षक अर्यालले फुटबल खेलमा रुची राख्ने सम्पूर्ण बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र सर्वसाधारणका सन्ततीलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई उत्कृष्ट खेलाडी तयार पार्न ग्रासरुट फुटबल प्रशिक्षण कार्य सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालय परिसरमा नवनिर्मित बक्सिङ रिङको समेत उद्घाटन गर्नुभयो । उहाँले बक्सिङ विधाका खेलाडीलाई प्रशिक्षणमा सहजताका लागि आधारभूतस्तरको नेपाल एपिएफ बक्सिङ प्रशिक्षण रिङको निर्माण गरी प्रशिक्षण गराउन लागिएको बताउनुभयो ।
ग्रासरुट फुटबल प्रशिक्षणमा वहालवाला सशस्त्र प्रहरी कर्मचारीका एक सय २९ सन्तति, अमर तथा अवकाशप्राप्त सशस्त्र प्रहरीका चार सन्तति र सर्वसाधारण नागरिकका एक सय ३५ सन्नति गरी कुल दुई सय ६८ जना सहभागी रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । रासस