नवलपुर
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान संशोधन बैठक गैडाकोटमा सुरू

नवलपुर,पुस १२-
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोटमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठक सुरू भएको छ । शनिबारसम्म सञ्चालन हुने बैठकको आज दिउँसो नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभयो ।
देशभरबाट भेला भएका महासङ्घका प्रतिनिधिले आगामी दिनमा सङ्गठन कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा विधान संशोधन गर्दैछन् । महासङ्घका पूर्वउपाध्यक्ष एवं विधान संशोधन बैठकका संयोजक डा तिलचन्द्र भट्टराईले मुलुकको वर्तमान अर्थतन्त्र र अबको दिशाका बारेमा बृहत् छलफल गरिने बताउनुभयो । नेपालको अर्थतन्त्रलाई माथि उकास्न कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा लगानी बढाउने विषयमा बैठकले बृहत् छलफल गर्ने भट्टराईको भनाइ छ ।
देशको अर्थतन्त्रमा विस्तारै आशा पलाउन थालेको अवस्थामा उद्योगी व्यवसायीलाई लगानी गर्न प्रेरित गर्नेगरी नीति निर्माण गर्न सरकारलाई आग्रह गरिने उहाँले बताउनुभयो । अहिले व्यवसायमा देखिएका कठिनाइलाई सम्बोधन गर्नेगरी छलफल गरेर सरकारलाई योजना बनाउन सुझाव दिने डा भट्टराईले बताउनुभयो ।
नवलपुरमा आयोजना गरिएको भेलाले गण्डकी प्रदेशको अन्न भण्डारका रूपमा रहेको नवलपुरको मौलाकालिका, देवघाट, त्रिवेणी, अयोध्यापुरी, बाल्मीकिजस्ता महत्त्वपूर्ण धार्मिक क्षेत्रको शुद्धतालाई कायम गर्दै आर्थिक पर्यटकीय क्षेत्रका रूपमा राष्ट्रिय योजनाको रूपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा एमाले महासचिव पोखरेलले व्यापार व्यवसाय गर्ने मान्छेलाई राजनीतिक रूपमा सङ्गठित गर्ने फोरमका रूपमा मात्रै महासङ्घलाई हेर्न नहुने बताउनुभयो । उहाँले यस महासङ्घलाई समृद्ध नेपाली, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने एउटा मिसनका रूपमा आफूलाई अग्रसर बनाउने काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
अहिले मुलुकमा रहेका धेरै कम्युनिष्ट पार्टीहरूले समाजवादी कार्यक्रम दिने विषयमा पैरवी गरिरहेका भन्दै महासचिव पोखरेलले अहिले नै समाजवादी कार्यक्रम दिने समय सुरू नभएको बताउनुभयो । “समाजवादको निर्माण राष्ट्रिय पुँजीको विकासको जगमा मात्रै हुन्छ”, उहाँले भन्नुभयो, “अहिले राष्ट्रिय पुँजी निर्माण गर्न सकिरहेको छैन, अहिले नै रातारात समाजवादको निर्माण गर्ने कुरा उचित हुन सक्दैन । त्यसअर्थमा हामीले समाजवादको आधार तयार गर्ने कुरा गरेका छौँ ।”
संविधानले पनि अनुमति दिएको जनताको बहुदलीय जनवादको राजनीतिक कार्यदिशाको एउटा शाखाका रूपमा रहेको समाजवादलाई गहिरोगरी आत्मसात् गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । समाजवाद निर्माण गर्ने अभियानका सन्दर्भमा व्यवसायीको भूमिका अत्यन्त महत्त्वपूर्ण भएको भन्दै महासचिव पोखरेलले त्यो भूमिका निर्वाह गर्न तयार छौँ भन्ने सन्देश उद्योगी व्यवसायीले दिनुपर्ने बताउनुभयो ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घका संयोजक भागिरथ सापकोटाले आज साँझदेखि नै विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठकको बन्दसत्र हुने बताउनुभयो । दोस्रोसत्रमा पूर्वमन्त्री एवं एमाले नेता भानुभक्त ढकाल, पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्ने सापकोटाले जानकारी दिनुभयो । बन्दसत्रमा साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा संधोधित विधानको बारेमा छलफल हुने सापकोटाले बताउनुभयो ।
“हाम्रो विधान मस्यौदा समितिले विधान निर्माण गरिसकेको छ, बन्दसत्रमा हामीले संशोधित विधान प्रस्तुत गर्नेछौँ”, उहाँले भन्नुभयो, “देशभरबाट सहभागी प्रतिनिधिलाई पाँच समूहमा विभाजन गरी विधानबारे छलफल गरी शनिबारसम्म विधानलाई अन्तिम रूप दिनेछौँ ।” छलफलबाट आएका कुरा विधानमा संशोधन गर्दै मुलुकको अर्थतन्त्रलाई सुधार गर्नका लागि सरकारले चाल्नुपर्ने कदम तथा अर्थतन्त्रमा देखिएका समस्या र समाधानसमेत औँल्याएर सरकारलाई सुझाव दिनेगरी शनिबार साँझ ‘नवलपुर चितवन घोषणापत्र’ जारी गरिने संयोजक सापकोटाले बताउनुभयो । विधान संशोधन बैठकमा सातवटै प्रदेश समिति र ७७ वटै जिल्ला सिमितिबाट गरी तीन सय ५० प्रतिनिधिको सहभागिता रहेको उहाँको भनाइ छ । रासस