राजनीति
एमालेमा आलोचक सिध्याउँदै केपी ओली
काठमाडौं, पुस ११-
नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाटै हटाउँदा दुई नेत्रीको पनि जिम्मेवारी खोसेको छ। पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा एमालेले रावललाई साधारण सदस्यबाट र दुई नेत्रीलाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको हो।
व्यापारी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि दान दिएको जग्गा सम्बन्धमा नेत्रीहरू स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले सामाजिक सञ्जालबाटै विरोध जनाएका थिए। सो विषयमा भीम रावलले पनि व्यापारीबाट जग्गा दान लिन नहुने धारणा राखेका थिए। ‘उनीहरू (पाण्डे र तिम्सिना)को जिम्मेवारी खोस्ने निर्णय गर्नु नै रावललाई पार्टीबाट निष्कासनको वातावरण बनाउनु हो,’ एमाले सचिवालयका एक सदस्यले भने।
यो समाचार नागरिक दैनिकमा छ, ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अनुशासनमा नबसेको र पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको बताए।
त्यस्तै बैठकले पार्टी कार्यालय निर्माण सन्दर्भमा स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले दिएको अभिव्यक्तिका सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले दुवै जनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको जानकारी पनि उपमहासचिव ज्ञवालीले दिए।
रावलले आफूमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरंकुशता लादेको बताए। ‘यो मूलतः ओलीको एकल निर्णय हो। ममाथि पार्टीको निर्णय भनेर ओलीले निरंकुशता लादे,’ रावलले भने, ‘यसले पार्टी पंक्तिलाई क्षति गर्छ।’
आफूले पार्टीको पक्षमा वकालत गर्दा ओली विदेशीको पाउमा परेको पनि रावलले बताए। ‘मैले पार्टीभित्र राष्ट्र, राष्ट्रियताको पक्षमा वकालत गर्दै थिएँ। ओली विदेशीको पाउमा पर्दै थिए,’ उनले भने।