देश/प्रदेश

सिद्धबाबा सुरुङमार्गको तीन वटै ‘बाइपास’ छिचोलियो, सुरुङमार्गको भौतिक प्रगति ३७ प्रतिशत

Banner

काठमाडौँ, पुस १०-

‘मृत्युमार्ग’ का रूपमा चिनिने सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग (बाइपास) छिचोलिएको छ । दोस्रो सहायक सुरुङ छिचोलिएसँगै आयोजनाको तीन वटै सहायक सुरुङ छिचोल्ने काम सम्पन्न भएको हो । यसअघि नै आयोजनाको पहिलो र तेस्रो बाइपास सुरुङ छिचोलिने काम सम्पन्न भएको थियो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ, सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाले तीन वटै बाइपास सुरुङ छिचोलिनु आयोजनाका लागि ठुलो उपलब्धि हासिल भएको बताउँदै अब मुख्य सुरुङ छिचोल्नमा आयोजनाको ध्यान केन्द्रित हुने बताए ।

उहाँका अनुसार आयोजना अन्तर्गतको दोस्रो बाइपास सुरुङ सोमबार छिचोलिएको हो । यसअघि तेस्रो बाइपास भदौ २६ गते र पहिलो बाइपास असोज ४ गते छिचोलिएको थियो । पहिलो, दोस्रो र तेस्रो बाइपास सुरुङको लम्बाइ क्रमशः १५२ मिटर, १६१ मिटर र १३० मिटर रहेको छ ।

केन्द्रका निर्देशक झाले मुख्य सुरुङको कुल लम्बाइमध्ये अब ७५ मिटर मात्र खन्न बाँकी रहेको बताउँदै अहिलेसम्म आयोजनाको कुल भौतिक प्रगति ३७ प्रतिशत रहेको जानकारी दिए । आयोजनाको मुख्य सुरुङ फागुनको पहिलो साताभित्र छिचोलिने गरी काम भइरहेको उहाँको भनाइ छ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुने छ ।

चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससिइसी)ले निर्माण ठेक्का पाएको यस सुरुङमार्गको खन्ने काम भने २०८० माघ ४ गतेदेखि सुरु भएको हो । यो आयोजना सात अर्ब ३४ करोड २१ लाख रुपियाँको लागतमा निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>