देश/प्रदेश

पञ्चैबाजा संरक्षणमा जुट्दै आमासमूह चेक गर्ने

Banner

ढोरपाटन (बागलुङ), पुस ५-

परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पञ्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा विस्तारै पञ्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् । युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ ।

अहिले बजारमै रहेका महिला समूहलेसमेत बाजा बजाउन थालेका छन् । मौलिक संस्कृतिका रुपमा रहेको पञ्चैबाजा लोप हुन थालेपछि महिला नै यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताउनुभयो । गाउँ तथा सहरमा विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरुले बजाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता १०/१२ कक्षा पास गरेर विदेश गइहाल्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे भात खुवाइ र ब्रतबन्ध हुँदा बाजा बजाउनै छाडेको हुँदा महिला दिदीबहिनी मिलेर पञ्चेबाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो, अहिले सबैले सिकेपछि ठाउँठाउँमा बजाउन जाने गरेका छौँ ।”

दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरुले अहिले आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पञ्चेबाजा समूहबाट सिकेका उनीहरुले रु एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रुपमा बजाउन थालेका हुन् । एउटा विवाहबाट रु ३० देखि ५० हजारसम्म लिने गरेको पञ्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिनुभयो । विवाहको समयमा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूलाठूला सहरसम्म बाजा बजाउन जाने गरेको उहाँको भनाइ छ ।

“सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, बाजा हामीहरुले किने पनि सिकाउने मान्छे थिएनन्, गाउँका बाजा बजाउन सिपालुहरुसँग तालिम लियौँ, अहिले १५ जनाभन्दा बढी महिला दिदीबहिनीले बजाउने गर्छौं”, उहाँले भन्नुभयो, “अब सिक्न चाहानेलाई पनि सिकाउन सकिन्छ, मङ्सिर र माघमा हामीहरुलाई भ्याइनभ्याई हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>