राजनीति
अब घरजग्गाको किनबेचमा उत्साह बढ्छ: उपप्रधानमन्त्री सिंह

काठमाडौँ, पुस ५-
जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्याहरूको समाधानका लागि गठित कार्यदलले सहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई प्रतिवेदन बुझाएको हो ।
जग्गा तथा आवास विकाससँग सम्बन्धित सुझावहरू तथा अन्य व्यवस्थाहरू अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई गर्नुपर्ने सुधार सहितको प्रतिवेदन पेस गर्न सहरी विकास मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदन–२०८१ बुझ्दै उपप्रधानमन्त्री सिंहले घरजग्गाको किनबेचमा ठुलो उत्साह नरहेको बेलामा बनेको प्रतिवेदनले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
उनले प्रतिवेदनलाई सहरी विकास मन्त्रालयले चाँडै कार्यान्वयनमा लैजाने र यसले देशको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे । सहरमा भाडामा बस्ने परिवारको सङ्ख्या बढी रहेको भन्दै निम्न र मध्यम वर्गलाई हाउजिङबाटै आफ्नै सम्पत्ति हुनेगरी अघि बढ्ने योजना सफल बनायन सके अर्थतन्त्रमा ठुलो योगदान पुग्ने उनले बताए ।

























