देश/प्रदेश

देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्ने

Banner

विराटनगर, पुस ४-

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा राष्ट्रिय समाचार समिति९रासस०ले आफ्ना स्थानीय समाचारदाताको क्षमता अभिवृद्धि गर्न यहाँ आयोजना गरेको तालिमको आज समापन गर्दै उहाँले राज्यबाट भएका विकास–निर्माणका गतिविधिका साथै सेवा प्रवाहका बारेमा सकारात्मक सूचनालाई पहिलो प्राथमिकतामा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड दिनुभयो । तथ्यहीन समाचारले आमनागरिकमा निराशा पैदा गरेकाले त्यसलाई चिर्नु सञ्चारकर्मीहरुको दायित्व हो भन्दै मन्त्री भण्डारीले देश र जनताका पक्षमा पत्रकारले सशक्त ढङ्गले कलम चलाउनुपर्ने बताउनुभयो ।

“सङ्घीयता कार्यान्वयनमा आएपछि भएका विकास र परिवर्तनका विषयलाई सही ढङ्गले जनसमक्ष प्रस्तुत नहुँदा नागरिक निराश हुँदै गएका छन् । यहाँ आशावादी कुराभन्दा निराशावादी कुरा गर्दै हिँड्नेहरु धेरै छन् जसले गर्दा समाजमा भ्रम फैलिएको छ, यसलाई चिर्नु पत्रकारको दायित्व हो । पत्रकारले राजनीतिकर्मीलाई रचनात्मक आलोचनाका माध्यमबाट खबरदारी गर्नुपर्छ, सङ्घीयता सेतोहात्ती होइन भन्ने कुरा प्रष्ट पार्दिनुस् ।” मन्त्री भण्डारीले भन्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्घीयता कार्यान्वयनमा आएपछि गति लिएका विकास–निर्माणका कार्यलाई केन्द्रमा राखेर कलम चलाउन समाचारदाताहरुलाई निर्देशन दिनुभयो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि सञ्चालनमा आएका विकास–निर्माणका विशाल परियोजनाहरुले गति लिए पनि जनता लाभान्वित हुने ती आयोजनाबारे सञ्चारकर्मीले पर्याप्त मात्रामा समाचार एवं विश्लेषण नलेखेका बताउनुभयो ।

विकास पत्रकारिताका माध्यमबाट नागरिकमा व्याप्त निराशालाई आशामा परिणत गर्न सकिने भएकाले त्यसबाट सञ्चारकर्मी चुक्न नहुनेमा कार्यकारी अध्यक्ष झाले जोड दिनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले सहभागी पत्रकारलाई विकास पत्रकारिता गर्न सुझाव दिनुभयो । पत्रकारप्रति नागरिकको विश्वास बढी हुने भएकाले जिम्मेवार भएर कलम चलाउन आग्रह गर्नुभयो ।

रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले प्रशिक्षणमा सिकेका सीप व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री हिक्कमतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सङ्घीयतालाई सबल बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशीला पाठकले पत्रकारले पठन संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

प्रशिक्षार्थीका तर्फबाट रासस इलाम संवाददाता राम योङ्हाङले तालिममा सिकेका सैद्धान्तिक सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्का प्रशिक्षार्थी मोरङ संवाददाता गोपाल काफ्लेले तालिमबाट समाचार पहिल्याउने ज्ञान बढेको बताउनुभयो ।

रासस कोशी प्रदेश प्रमुख मोहम्मद सदरुलले व्यावसायिक रुपमा समाचार सम्प्रेषण गर्न तालिम उपयोगी भएको विश्वास व्यक्त गर्नुभयो तालिममा कोशी प्रदेशका सबै जल्लाका रासस संवाददाताहरुको सहभागिता थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>