राजनीति
कास्की प्रहरीले भन्यो-रविको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं

काठमाडौं, पुस ४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको हो ।
‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्त कुमार शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
प्रहरीले उक्त तस्वीर डा.निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । भुसालले पनि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।

























