नवलपुर
न्यूट्रेशनकै कारण नेपालले १० वर्षपछि प्राप्त गर्ने ठूलो अवसर गुमाउँदैछः गगन थापा
![Banner](https://narayanionline.com/wp-content/uploads/2024/12/Gagan-pic.jpg)
गैंडाकोट, मंसिर २९–
नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले बच्चाहरुले पाइरहेका न्यूट्रेशनका कारण १० वर्षपछि प्राप्त गर्ने ठूलो अवसर नेपालले गुमाउन लागेकोमा चिन्ता व्यक्त गरेका छन् ।
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)स्थित गैंडाकोटमा एम्नेष्टी इन्टरनेशनल नेपालको आजदेखि सुरु भएको वार्षिक साधारणभाको उद्घाटन गर्दै थापाले ज्ञानमा आधारित अर्थतन्त्रमा रहेर नेपालले अभूतपूर्व रोजगारीको अवसर सृजना गर्न सक्ने भए पनि न्यूट्रेशनकै कारण त्यो अवसरबाट चुक्न लागेकोमा चिन्ता प्रकट गरे ।
उनले भने–‘रोजगारीको हकलाई हामीले मौलिक हक भनिरहेका छौं, रोजगारी नपाउँदा हाम्रा केटाकेटीहरु काम गर्न बाहिर गए, नेपालले ज्ञानमा आधारित अर्थतन्त्रमा अभूतपूर्व रोजगारीको अवसर सृजना गर्न सक्छ भन्ने मलाई विश्वास छ, तर कहाँ मिस हुन्छ भन्ने डर छ भने हाम्रा गाउँघरमा केटाकेटीहरुले जन्मेदेखि २ वर्षको बीचमा जुन न्यूट्रेशन पाइरहेका छन् त्यो न्यूट्रेशनका कारण १० वर्षपछि प्राप्त गर्ने ठूलो अवसर मिस गर्दैछ ।’ नेता थापाले स्थानीय सरकारले नै अब विकास निर्माणसंगै न्यूट्रेशनको क्षेत्रमा काम गर्नुपर्नेमा सुझाव दिए ।
महामन्त्री थापाले युवाहरुलाई सस्तो श्रमिकको रुपमा विदेश जानबाट रोक्न स्थानीय सरकारसंग युवाका क्षेत्रमा काम गर्ने संस्थाहरुले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विकासको केन्द्रमा मानव रहे मात्र मानव अधिकार रक्षा हुने बताए ।