देश/प्रदेश
मोवाइल फुड ल्याव भ्यानबाट काठमाडौँ प्रवेश विन्दुमा दूधको परीक्षण
काठमाडौँ, कार्तिक २८–
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान संचालन गरेर र्यापीड रेस्पोन्स टिम (आआरटी) मार्फत काठमाडौं प्रवेश विन्दुमा खाद्य पदार्थ निरीक्षण अनुगमन शुरु गरेको छ ।
गत आइतबार विभागले अनुगमन परीक्षण विहान ६ बजे देखि १० बजे सम्म गरेको हो । काठमाडौं उपत्यकाका अन्य प्रवेश विन्दुहरुमा समेत क्रमशः मोवाइल फुड ल्याव भ्यान परिचालन गरी उपत्यका भित्रिने खाद्य पदार्थहरुको छड्के निरीक्षण तथा अनुगमन परीक्षण गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।
विभागको आरआरटी टोलीले प्रहरी वृत, जगाती, भक्त्तपुरको सहयोगमा निरीक्षण अनुगमन टोलीबाट काठमाण्डौ उपत्यकाभित्र प्रवेश गरेका कच्चा दुध ढुवानी साधनहरुको निरीक्षण अनुगमन गर्दै दुधका नमुना सकंलन र परीक्षण गरिएको थियो । काठमाडौं भित्रिने दुधमा समस्या छ भन्ने गुनासोको आधारमा यो निरीक्षण अनुगमन कार्य गरिएको प्रवक्ता महर्जनले जानकारी दिए ।
उक्त टोलीले ५ वटा गाडीमा ल्याइएको दूध परीक्षण गर्दा कुनै खराबी नदेखिएको उनले जानकारी दिए । ती ढुवानी साधनबाट ल्याइएको दूधमा सोडा, चिनी, युरिया र स्ट्टार्च जस्ता बाह्य पदार्थहरुको परीक्षण गरिएको थियो ।