देश/प्रदेश
‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध कानूनी उपचार खोज्ने उपन्यासकार बस्यालले चेतावनी
रुपन्देही, कात्तिक २६-
नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले आफ्नो उपन्यासको कथा चोरेको आरोप लगाका डा. शिवशंकर बस्यालले कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
आफूले लेखेको ‘संग्रामपुर’ उपन्यासका थुप्रै प्रसंगहरु ‘पूर्णबहादुरको सारङ्गी’मा कपी गरिएको दाबी गरेका उनले कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन्।
आफूले सन् २०२० मा प्रकाशित गरेको उपन्यासको आधारमा चलचित्र बनाएर स्रोतसमेत नखुलाइएको र निर्मातालाई जानकारी दिँदासमेत वेवास्ता गरेको गुनासो गर्दै बस्यालले भने, ‘मैले कुनै नेपाली चलचित्रको विरोध गरेको होइन, तर मेरो उपन्यासलाई आधार बनाएर चलचित्र बनाउने अनि मैले प्रमाणसहित जानकारी दिँदा पनि कुनै प्रतिक्रियासमेत नदिने गर्दा मेरो मन दुःखेको छ ।’
‘मेरो मेहनतको चोरी हुँदा उल्टै मलाई नै आरोप लगाएर बोल्नेहरुलाई मैले जवाफ दिनुपर्ने भयो, कानूनी उपचारमा जान्छु’, उनले भने, ‘मुद्दा मामिला गरेर नेपाली दर्शकको मन जितेको चलचित्र रोक्ने पक्षमा म थिइनँ, तर जानकारी गराउँदा पनि निर्माण पक्षबाट छलफलको वातावरण नबनाइएकाले चित्त दुःखेको हो ।’