राजनीति

राप्रपा नेपालका अध्यक्ष कमल थापाको ‘बहिनीलाई चिठी’ विमोचन

Banner

काठमाडौँ, कात्तिक २४-

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले लेख्नुभएको ‘बहिनीलाई चिठी’ नामक पुस्तक आज विमोचन गरिएको छ ।

बहिनी विमला विष्टप्रति समर्पित उक्त पुस्तकमा जीवन दर्शन, वियोग, राजनीतिक विषयवस्तु, राष्ट्रियतालगायत छ वटा खण्डहरू छन् । कृतिमा दाजुभाइ र दिदीबहिनीको माया, प्रेम र बिछोड, सुखमय जीवन, विश्वासघातलगायत विषयमा कविता रचना गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल शिक्षा परिषद्की अध्यक्ष वरिष्ठ साहित्यकार रमा शर्माले कृति लोकार्पण गर्दै वियोगलाई शक्तिमा रूपान्तरण गर्न सिर्जना गरिएको उक्त पुस्तक प्रेरणादायी रहेको बताउनुभयो । उहाँले नेपाली साहित्यको विकासमा यस कृतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कृतिका लेखक थापाले साहित्यप्रति अभिरुची भएकाले गीत, कविता लेख्ने गरेको बताउँदै बहिनीसँगको बिछोडको पीडालाई अभिव्यक्त गर्न सो कृति रचना गरेको जानकारी दिनुभयो ।

साहित्यकार डा बमबहादुर थापा जितालीले कविता विषयवस्तुका हिसाबले स्वछन्द लयमा रहेको बताउँदै कवितामा बहिनीलाई दिइएको अर्ती, उपदेश भावपूर्ण रहेको साथै मुलुकमा सनातनी, वैदिक महत्त्वलाई दर्शाउन खोजिएको बताउनुभयो ।

पूर्व रथि नेत्रबहादुर थापाले शोकमा लेखिएको कृतिले बेथितिलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेकाले केही कविताले पाठकलाई भावुक बनाउने उल्लेख गर्नुभयो । लेखक थापाका यस अघि नाकाबन्दी र भूराजनीति, बुबा र द्वन्द्व व्यवस्थापनका चुनौति नामक कृति प्रकाशित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>