देश/प्रदेश

पर्यटकीय स्थल सोवाङमा ड्रममा पानी भण्डारण

Banner

म्याग्दी, कात्तिक १-

दृष्यावलोकनका लागि म्याग्दीको नयाँ गन्तब्यको रुपमा विकास हुन थालेको रघुगंगा गाउँपालिका–७ चिमखोलाको सोवाङ धुरी वरपर खानेपानीको मुहान छैन् ।

सुख्खा याममा सोवाङ घुम्न जाने पर्यटकहरुले पिउन, खाना पकाउन र सरसफाइका लागि करिब दुई तल तल रहेको आलेखर्कबाट ग्यालीन र बोत्तलमा पानी बोकेर लैजाने गर्छन् । पानी बोकेर उकालो चढ्नुपर्ने समस्या हटाउन सोवाङ धुरीमा पानी संकलन र भण्डारण गर्न ड्रम राखिएको छ ।

चिमखोला घर भई हाल पोखरामा बसोबास गर्नुहुने तारा गर्बुजा पुन र गोपिन पुनले सोवाङ धुरीदेखि दुई सय मिटर तल क्याम्पीङ गर्ने ठाउँ नजिकै पाँच÷पाँच सय लिटर क्षमताको दुई वटा ड्रम राख्नुभएको हो । “उच्च स्थानमा रहेको सोवाङ धुरीको नजिकै पानीको मुहान नभएकाले धेरै तलबाट पानी बोकेर लैजानुपर्ने समस्या हटाउन व्यक्तिगत लगानीमा चिमखोलाको ८ र ९ नम्बर टोलका प्रतिनिधी सहित पुगेर ड्रम राखेको हो,” उहाँले भन्नुभयो “हिउँ पग्लीएर र आकाशको पानी ड्रममा सङ्कलन हुने ब्यवस्था मिलाएका छौ । पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ ।”

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको समुन्द्रि सतहदेखि तीन हजार आठ सय ४० मिटर उचाईमा रहेको सोवाङ धुरीबाट संसारको सातौ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको फेददेखि चुचुरो सम्मको दृष्यावलोकन गर्न पाउनु मुख्य विशेषता हो ।

सुर्योदयका साथै गुर्जा, धवलागिरी, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिने चिमखोलाका वकिल पुनले बताउनुभयो ।

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जंगलमा घोरल, मृग लगायत जनावर र पाँच औले, सेदक चिनी लगायत जडिवुटीहरु अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । चिमखोलाको मण्डली युवा क्लवले चिमखोला देखि पात्लेखेत– जसलाङ– सिजिखोला– सिजिखर्क– थामखर्क– खोलाखर्क– सिसर्का– तल्लोमेला– उपल्लोमेला– आलेखर्क– नेपाने हुदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका छन् ।

सोवाङ धुरीबाट रघुगंगा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोला देखि हिड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासीहरु बर्खा याममा गाईभैसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेशीका फाँटमा झर्ने गर्दथे ।

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको क्लवका अध्यक्ष प्रविन बुढाले बताउनुभयो । “पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माणमा पहल, प्रचारप्रसार र प्रर्वद्धनमा जुटेका छौ ।”

व्यवस्थित पदमार्ग, आश्रयस्थल नभएकाले वन्दोबस्तीका सामान सहित जानुपर्छ । सोवाङ धुरी जाने पर्यटकहरु नजिकैको ओडारमा बास बस्ने गरेका छन् । पोखराका पर्यटन व्यवसायी गर्बुजाले सोवाङ धुरीमा शौचालय निर्माण गर्ने योजना बनाउनुभएको छ ।

आश्रयस्थल निर्माण, खानेपानीको व्यवस्थापन र पदमार्गमा संकेत चिन्हहरु बनाउन आवश्यक छ । टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।

यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>