देश/प्रदेश
अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु, कुटपिट गर्ने तीन जना प्रकाउ

काठमाडौँ, असोज ३०-
काठमाडौंमा एक पुरुषको हत्या गरेको आरोपमा तीन जना प्रकाउ परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा हिजो (मंगलबार) एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए ।
लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो ।

























