देश/प्रदेश
विपद उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

काठमाडौँ, असोज २८-
विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ ।
सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका-५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो । सोही आधारमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए ।
बर्दिया घर भएका बडुवालले २०६० सालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए।

























