अन्तर्राष्ट्रिय
लोकप्रिय टाटा कम्पनीका मालिक रतन टाटाको निधन

काठमाडौं, असोज २४-
भारतका प्रख्यात उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट बयान जारी गर्दै रतन टाटाको निधन भएको पुष्टि गरेका छन्। भारतका राष्ट्रपति, प्रधानमन्त्रीसहित धेरै प्रमुख व्यक्तिहरूले उनको निधनमा दुःख व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले एक्समा लेखेकी छन्-रतन टाटाको निधनले भारतले एक यस्तो आइकन गुमायो, जसले कर्पोरेट विकासलाई देशको निर्माणसँग जोडेको थियो । साथै, उत्कृष्टतालाई नैतिकतासँग ।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्-रतन टाटाजी एक दूरदर्शी व्यवसायी नेता र एक असाधारण व्यक्ति हुनुहुन्थ्यो । उहाँले भारतको एक प्रतिष्ठित उद्योग घरानामा स्थायी नेतृत्व प्रदान गर्नुभएको थियो । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । ९ अक्टोबर २०२४ मा उनले अन्तिम सास फेरे। भारत सरकारले रतन टाटालाई पद्म विभूषणले सम्मानित गरेको थियो।
उनी नेपालमा समेत निकै लोकप्रिय रहेको टाटा कम्पनीका मालिक थिए ।
























