देश/प्रदेश

गीत र नृत्यमा पौराणिक विषय झल्कने ‘पुर्खौली’लाई निरन्तरता

Banner

म्याग्दी, असोज २०-

‘आकाशैको मुलीमा तारा भुइँमा खस्यो
सरस्वती गुरुज्यू शिरैमा चढाउला….’

रघुगङ्गा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस् सरस्वती माता भन्ने भावलाई गीतबाट प्रस्तुत गर्नुभयो । उहाँको साथमा रहेका महिला कलाकारले उहाँलाई साथ दिनुभएको थियो ।

कछाड र भाङ्ग्रामा सजिएका दुई जना (मादले) ले थजालीको भाकामा कम्मरमा भिरेको मादल बजाउँदै नाच्न थाले । महिलाको पहिरनमा सजिएका थप दुई जना (मारुनी) कलाकार पनि मादलेसँगै लय मिलाएर नृत्यलाई निरन्तरता दिए ।

‘सोह्र सय गोपीनीले यमुना नुुहाउँदैछन्
कृष्णजी अयोध्याबाट आउँदैछन्….’

जस्तै विभिन्न धार्मिकग्रन्थका विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिने पुख्र्यौली गीत र नाच म्याग्दीका मगर समुदायको मौलिक सांस्कृतिक पहिचान भएको थजालीले बताउनुभयो ।

“पुख्र्यौली गीत र नृत्यले देवीदेवताको सम्मान गर्छ, यसमा प्रेमका विषय हुँदैनन्”, झिँका अगुवा मारुनी कलाकार रेशमबहादुुर थजालीले भन्नुभयो, “जस्तै हन्दू धर्मग्रन्थको रामायणमा राम र सीताको बिहे भएकोदेखि वनबास गएको र रावणसँगको युद्धका विषयलाई गीत र नृत्यका माध्यमबाट प्रस्तुत गर्नु नै ‘पुख्र्यौली’को प्रमुख विषेशता हो ।”

अनौठो मौलिक नाच

सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवरलगायत शुभकार्यमा अनिवार्य देखाउने चलन छ । दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । गीतको भाका र नाच्नेबीच मादलको ताल मिल्नुपर्छ । पुख्र्यौली सात रात सात दिनसम्म पनि गाएर÷नाचेर नसकिने मान्यता छ ।

पुख्र्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरू कोही–कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भाङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर ९मादले मारुनी० नाच देखाउँछन् ।

विशेषगरी यो नाच सुुरु गर्नुपूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरू एक्कासी काम्ने गर्छन् । पूर्ण रूपमा अचेत नभए पनि स्वतःस्फुर्त रूपमा मादलको तालले उनीहरूका शरीरमा कम्पन ल्याउने र काम्ने गरेको पुख्र्यौली नाच्ने कालकारको भनाइ छ ।

नाच सुरु हुनुपूर्व नै स्थानीय पुख्र्यौली भाकामा गाउने गीतसँगै मादलको तालमा काम्न सुरु गर्नेहरूमा मादलको २२ ताल पुगेपछि मात्रै आफैँ कम्पन हराउने झिँका अगुवा मारुनी कलाकार थजालीले बताउनुभयो । उहाँका अनुसार नृत्य प्रस्तुत भइरहँदा कार्यक्रममा सहभागी केही–केही पत्याउनै गाह्रो पर्नेगरी एक्कासी काम्न सुरु गर्ने यो नृत्यमा हराउने गर्दछन् ।

संरक्षणका लागि पुस्तान्तरण

अन्य सार्वजनिक कार्यक्रममा समेत गुञ्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई म्याग्दीका धेरै बस्तीका मगर समुदायले पुस्तान्तरण गरेर जोगाएका छन् । पुख्र्यौली नाच संरक्षणका लागि अग्रज र पाका कलाकारहरूबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुँदै आएको छ ।

रघुगङ्गा गाउँपालिका–५ झिँका ३५ वर्षीय टकबहादुर गर्बुजाले मनोरञ्जन र रमाइलोसँगै पुराना संस्कृति जोगाउन मारुनी नाच सिकेको बताउनुभयो । “केही वर्ष अघिसम्म बूढापाकामात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौँ”, उहाँले भन्नुभयो, “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुख्र्यौली संस्कृतिको ज्ञान, सीप र मौलिकता हस्तात्रण गरेर लोप हुन दिँदैनौँ ।”

युवावर्ग वैदेशिक रोजगारीमा जाने क्रमले पछिल्लो युवापुस्ता र पुरानो पुस्ताबीचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालिम, सहजीकरणलगायत माध्यमबाट संस्कृति संरक्षणमा पहल गरिएको रघुुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । “पुख्र्यौली संस्कृति पुर्खाको सम्पत्ति र हाम्रो लागि गहना हुन्”, उहाँले भन्नुभयो, “युवापुस्तालाई यसप्रति आकर्षण गर्ने र संस्कृति जोगाउने प्रयास गरेका छौँ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>