समाचार
विपद्का बेला उद्धारमा हेलिकोप्टर उडाउन क्यानकै ‘असहयोग’
काठमाडौं, असोज १६-
अविरल वर्षाले विपत्ति निम्त्याउँदा उद्धारमा सरकारी तथा निजी हेलिकोप्टरले उडान अनुमति नै नपाएको खुलेको छ। सरकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भिजिबिलिटी कम देखाएर नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर उडानका लागि अनुमति नदिएको खुलेको हो।
‘शनिबार दिउँसो राज्यलाई परेको विपद्मा सरकारी र निजी हेलिकोप्टरहरू परिचालन हुन सकेनन्,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने। ती अधिकारीका अनुसार बिहान ११ बजेसम्म गृहमन्त्री रमेश लेखकले ‘अब त भिजिबिलिटी हुन्छ होला, रेकी गरिदिनू’ भनेर सेनालाई आग्रह गरेका थिए। तर क्यानले रोकेपछि सेना र निजी क्षेत्रबाट सञ्चालित हेलिकोप्टर उद्धारका लागि परिचालित हुन नसकेका हुन्।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानैदेखि हेलिकोप्टर परिचालन गर्न खोजेको थियो। तर क्यानले उडान अनुमति दिएको थिएन। गृह सचिव गोकर्णमणि दवाडीले सेनाको हेलिकोप्टर परिचालन हुन ढिलाइ भएको भन्दै बिहानै निजी क्षेत्रका हेलिकोप्टर उडाउन सञ्चालकहरूलाई आग्रह गरेका थिए। तर निजी हेलिकोप्टरहरूले पनि उडान भर्न सकेनन्। ‘क्यानले उडाउन अनुमति दिएन, राज्यलाई असहयोग भयो,’ निजी हेलिकोप्टर सञ्चालक एक सदस्यले भने, ‘थानकोट, नक्खु जान भिजिबिलिटी पुग्दैन भन्नु कमजोरी देखियो। यो विषयमा छानबिन हुनुपर्छ।’ माओवादी द्वन्द्वको बेला राति उड्ने हेलिकोप्टरलाई बिहान भिजिबिलिटी कम छ भन्ने एउटा बहाना मात्रै भएको पनि ती सञ्चालकले दाबी गरे।
क्यानका उपमहानिर्देशक एवं प्रवक्ता हंसराज पाण्डेले बिहानको समय भिजिबिलिटी कम थियो तर उद्धारका लागि अनुमति लिन आउने हेलिकोप्टरलाई उडान अनुमति नदिएको भन्नेमा सत्य सत्यता नभएको बताए। ‘उद्धारका लागि भन्नेबित्तिकै त्यस्तो उडानलाई प्रामिकतामा राखेर अनुमति दिने गरेका छौं,’ प्रवक्ता पाण्डेले भने। विशेष परिस्थितिमा उद्धारका लागि हेलिकोप्टर खटाउन नसक्दा यतिबेला गृह मन्त्रालयको मात्र होइन, सरकारकै आलोचना भइरहेको छ। तर सरकारी निकायले असहयोग गरेको विषयले गृह मन्त्रालय निरीहजस्तै भएको छ। यो समाचार नागरिक दैनिकमा छ ।