अन्तर्राष्ट्रिय

गंगाको तीव्र कटानले १७५ वर्ष पुरानो शिव मन्दिर ढल्यो

Banner

नयाँ दिल्ली, भदौ २३-

भारतको पश्चिम बंगालस्थित माल्दा जिल्लामा गंगा नदीको तीव्र कटानका कारण झन्डै १७५ वर्ष पुरानो शिव मन्दिर ढलेको छ । रातुआ क्षेत्रमा रहेको मुनिरामटोला शिव मन्दिर आइतबार साँझ गंगा नदीमा खसेको हो ।

स्थानीयका अनुसार मन्दिर गत वर्षदेखि नै नदी कटानको जोखिममा थियो । मन्दिर जोगाउन अस्थायी सुरक्षात्मक कामसमेत गरिएको थियो ।

तर, शनिबार नदी किनारको ठूलो हिस्सा कटान भएपछि आइतबार साँझ गंगाले मन्दिरको सम्पूर्ण संरचना बगायो । स्थानीय विद्यालय शिक्षक आलोक मण्डलका अनुसार उनीहरूको बाल्यकालमा मन्दिरबाट गंगा नदी करिब १५ किलोमिटर टाढा थियो । मन्दिर भक्तजनका लागि निकै लोकप्रिय रहेको र त्यहाँ लाग्ने साप्ताहिक बजारमा छिमेकी बिहारबाट समेत हजारौँ मानिस आउने गरेको उनले बताए । माल्दा जिल्लाका अन्य क्षेत्रमा पनि बाढी र नदी कटानले ठूलो क्षति पुर्‍याएको छ ।

मनिकचक ब्लकअन्तर्गत पर्ने भूतनी टापु सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ । त्यहाँको एकमात्र स्थानीय अस्पतालसमेत बन्द गर्नुपरेको छ भने प्राथमिक स्वास्थ्य सेवा पञ्चायत कार्यालयबाट सञ्चालन गरिएको छ । भूतनीका गर्भवती महिलालाई मनिकचकका दुई विद्यालय भवनमा सारिएको छ। सेप्टेम्बर २ को राति तटबन्ध भत्किएपछि भूतनी टापुमा पानी पसेको थियो । त्यसपछि तीन पञ्चायतअन्तर्गतका कम्तीमा ६२ गाउँ डुबानमा परेका छन् । स्थानीय प्रहरी चौकीसमेत डुबानमा परेको छ ।

सन् २०२५ मा ६ करोड ५० लाख भारु खर्चेर बनाइएको तटबन्ध भत्किएपछि यसको निर्माण गुणस्तरमाथि पनि प्रश्न उठेको छ । स्थानीय विधायक गौर मण्डलले तटबन्ध कमजोर बनेको आरोप लगाउँदै यसका लागि अघिल्लो टीएमसी सरकारलाई जिम्मेवार ठहराएका छन् । बाढी तथा कटान प्रभावित क्षेत्रमा उद्धार र राहतका काम तीव्र पारिएको छ । पश्चिम बंगाल सरकारका मन्त्रीहरू समेत प्रभावित क्षेत्रमा पुगेर अवस्थाको निरीक्षण गरिरहेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>