नवलपुर

जल, जमिन र जंगलको महत्त्व दर्शाउन तीज गीत

Banner

गैँडाकोट,भदौ १६-

तीजका बेला घर–घरमा जम्मा भएर रमाइला एवं वेदनाका गीत गाउने चलन पुरानो हो । तर, संरक्षणका कुरा भने विरलै हुने गरेका छन् । शनिबार गैँडाकोटमा भने जल, जमिन र जंगलको महत्व दर्शाउन महिलाहरुले चेतनामूलक तीज गीत प्रस्तुत गरेका छन् । संरक्षण र पर्यावरणका विषयमा पेचिला सन्देशसहितका प्रतियोगितामा गैँडाकोटका सामुदायिक वन र खानेपानी संस्था÷समूहले सन्देश दिएका छन् ।

उनीहरुले ‘जल, जंगल जमिनसँगै जोडिएको जीवन, सफा बनाऔँ, वातावरण स्वस्थ नै हो धन’ भन्दै सन्देशसमेत दिएका थिए । केहीले ‘जताततै प्लटिङ बसेको छ बाँझो खेत, भोकमरीको चपेटामा पर्ने हो कि देश’ भन्दै चिन्ता व्यक्त गरेका थिए । केहीले ‘हिरा, मोती, सुन फल्छ हाम्रो देशको माटोमा, अवरोध नपु¥याऔँ है हिड्ने बाटोमा’ भन्दै सजग गराएका थिए ।

‘जल, जंगल र जमिनको संरक्षण, सफा र सुन्दर पर्यावरण’ विषयक, संरक्षणका सवालहरुको प्रकृतिमा आधारित समाधानको खोजी गर्दै तीज गीत प्रतियोगिता गरिएको हो । चारवटा सामुदायिक वन र चारवटा खानेपानी संस्था गरी आठवटा समूहको संरक्षणसँगै चेतना र सन्देशले भरिएका गीतबीच घम्सा–घम्सी भएको थियो । ‘नदीसँगै हामी’ अभियानका साथ शनिबार नमुना शिवनगर खानेपानी संस्थाको सभाहल गैँडाकोट–६ मा भएको प्रतियोगितामा भेडाबारी सामुदायिक वन प्रथम हुन सफल भएको छ ।

नन्दन सामुदायिक वन द्वितीय, जयश्री सामुदायिक वन तृतीय र जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ । प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वनालाई सात हजार रुपैयाँसहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

संरक्षणमा समुदायलाई नै सक्रियता गराउन सहमति गैँडाकोट र गैँडाकोट खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको आयोजना तथा सामुदायिक रेडियो विजय एफएम १०१।६ को सहआयोजनामा तीज गीत प्रतियोगिता–२०८१ गरिएको हो । त्यस्तै डब्लु डब्लु एफ, डेनमार्क सरकार र गैँडाकोट नगरपालिकाको सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले पुरानो संस्कृति झल्कने र समुदायले सजग गराउन सबै सक्रिय हुनुपर्ने बताए । गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले पर्यावरण संरक्षणमा गरिएको सन्देशमूलक तीज गीत कार्यक्रम प्रशंसायोग्य रहेको बताए । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गीत तथा नाचका माध्यमबाट सूचना दिँदा मान्छेहरुले छिट्टै बुझ्ने भएकोले जल, जमिन र जंगलको संरक्षणसँगै सरसफाइसम्बन्धी सचेतना फैलाउन तीज गीत प्रतियोगिताको आयोजना गरिएको बताए ।

कार्यक्रममा गैँडाकोट–७ का वडाअध्यक्ष होमनाथ सापकोटा, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भूषाल, जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरे, नमुना शिवनगर खानेपानी संस्थाका अध्यक्ष जयराम कँडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुरका अध्यक्ष वुद्धिनाथ घिमिरेले वन र खानेपानी संरक्षणबारे भनाइ राखेका थिए ।

प्रतियोगिताका संयोजक एवं सहमतिका कोषाध्यक्ष तारादेवी शर्माले स्वागत गर्दै गैँडाकोटमा अनुभवी व्यक्ति एवं संरक्षणमा नै खटिएका संरक्षणकर्मीहरुकै आवाजमा संरक्षणमुखी एवं वेदनाका तीजी गीत सुन्न पाउनु खुसीको कुरा रहेको बताए ।

कार्यक्रम सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजालले सहजीकरण गरेका थिए भने गैँडाकोट खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका संयोजक विष्णुप्रसाद सापकोटाले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>