क्रिकेट
क्यानडामा नेपालका कप्तान रोहित पौडेल आबद्ध टोली फाइनलमा
काठमाडौं, साउन २७-
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स ग्लोबल टी–२० क्यानडाको फाइनलमा प्रवेश गरेको छ । पौडेल सुरुवाती ११ मा नअटाएको खेलको दोस्रो क्वालिफायरमा ब्राम्पटन वूल्भ्सलाई हराउँदै टोरोन्टो फाइनलमा प्रवेश गरेको हो । टोरोन्टोले ब्राम्पटनलाई ५ विकेटले हराएको हो ।
ब्राम्पटनले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १० बल अगावै मात्र ५ विकेटको क्षतिमा पछ्यायो । टोरोन्टोका लागि कप्तान कोलिन मुनरोले सर्वाधिक ३६ रनको योगदान दिए ।
त्यस्तै, मोहम्मद नवाजले २४ रन जोड्दा उन्मुक्त चन्दले १९ तथा एन्ड्रियस गोउसले १८ रन बनाए । ब्राम्पटनका लागि अखिल कुमारले ३ विकेट लिए । यसअघि निक हबसनलको अर्धशतकको मद्दतले ब्राम्पटनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो ।
टोरोन्टो पहिलोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । आइतबार राति हुने फाइनलमा टोलीले मोन्ट्रेयाल टाइगर्सको सामना गर्ने जनाइएको छ ।