खेलकुद
हिमालयन एभरेष्ट इन्स्योरेन्स चितवन राइनोजको को–स्पोन्सर

चितवन, भदौ ३०–
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चितवन राइनोजको को–स्पोन्सरका रूपमा निरन्तरता दिएको छ।
चितवन राइनोजले मंगलबार उक्त साझेदारीलाई निरन्तरता दिएको औपचारिक घोषणा गर्दै यसले दुवै संस्थाबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवर्द्धनप्रतिको साझा प्रतिबद्धतालाई थप सुदृढ बनाउने जनाएको छ।
साझेदारीसम्बन्धी समझदारीपत्र (एमओयू) मा चितवन राइनोजका क्लब अध्यक्ष आयुष न्यौपाने र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।
चितवन राइनोजले हिमालयन एभरेष्ट इन्स्योरेन्सले निरन्तर गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै एनपीएल सिजन ३ मा थप सफल र प्रभावकारी सहकार्य हुने अपेक्षा गरेको जनाएको छ।
चितवन, मकवानपुरलाई आधार बनाएर एनपीएलमा प्रतिस्पर्धा गर्दै आएको चितवन राइनोजले आगामी सिजनका लागि तयारीलाई तीव्र बनाइरहेको छ।
























