क्रिकेट
अष्ट्रेलियन स्टार डेविड वार्नर काठमाण्डु गोखार्जबाट एनपीएल खेल्ने

काठमाडौँ, भदौ ३०–
विश्व क्रिकेट स्टार डेभिड वार्नरले काठमाण्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । अस्ट्रेलियाका स्टार ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने काठमान्डु गोर्खाजले जनाएको छ ।
एनपीएलको तेस्रो सिजन कात्तिक ९ गतेबाट सुरु हुँदैछ । काठमान्डु गोर्खाजले यसअघि नै श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई अनुबन्ध गरिसकेको छ ।
एनपीएल खेल्न आउने विदेशी खेलाडीमध्ये वार्नर अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन् । अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए । २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ चुनिएका थिए । साथै उनले अस्ट्रेलियाबाट २०२१–२३ को विश्व टेस्ट च्याम्पियनसिप पनि जितेका थिए ।
‘डेभिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन, यसका लागि महिनौंसम्म छलफलहरू भएका थिए र यसमा सहभागी सबैको कुरा–चित्त, धैर्यता र विश्वास गराउन महिनौं लाग्यो । तर उनी स्तरको खेलाडीले काठमाडौंको प्रतिनिधित्व गर्ने र टीयू मैदानमा खेल्ने सम्भावनाले हरेक प्रयासको मूल्य बनायो,’ काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भने, ‘म सानैदेखि क्रिकेटको उत्साही प्रशंसक हुँ, लाखौं नेपालीहरूजस्तै म पनि हाम्रो देशमा विश्वका महान् क्रिकेट खेलाडीहरू खेलेको देख्ने सपना झैं ठूलो भएर हुर्केको हुँ । आज त्यो सपनाको सानो अंशलाई वास्तविकतामा बदल्न मद्दत गर्न सक्ने स्थितिमा हुँदा म अत्यधिक गौरवान्वित छु ।’
























