खेलकुद
बालबालिकालाई आधारभूत क्रिकेट सिकाउन कासी स्पोट्स बाह्रघरेमा ‘किड्स क्याम्प’ सुरु

चितवन, साउन २१–
चितवन जिल्ला क्रिकेट संघ र कासी स्पोट्र्सको संयुक्त आयोजनामा बालबालिकाहरुलाई क्रिकेट सिकाउन तेस्रो संस्करणको किड्स क्याम्प सुरु भएको छ ।
भरतपुरको बाह्रघरेस्थित कासी स्पोट्समा क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो । यस क्याम्पमा ७ देखि १४ वर्षसम्मका बालबालिकाहरुलाई आधारभूत क्रिकेट प्रशिक्षण दिइने छ । साउन १९ गतेदेखि सुरु भएको यस किड्स क्याम्प कात्तिक १० गतेसम्म चल्ने छ । यस क्याम्प हरेक शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा प्रशिक्षण गराइने कासी स्पोट्र्सका संचालक डा.शुभ लामिछानेले जानकारी दिए ।
यस क्रिकेट प्रशिक्षण कार्यक्रम दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्ने छ । त्यसपश्चात बालबालिकाहरुलाई निःशुल्क रुपमा पौडीको तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाईएको संचालक लामिछानेले जानकारी दिए । यस किड्स क्याम्पमा बालबालिकाहरुलाई सहभागि गराउन प्रतिव्यक्ति ६ हजार रुपैयाँ तोकिएको छ । महिलाका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । अर्थात् बालिकालाई प्रशिक्षणमा सहभागि हुन मात्र ३ हजाुर रुपैयाँ शुल्क तोकिएको छ । यस्तै एउटा घरका बाबु र नानी सहभागि भए त्यसमा पनि दोस्रो बच्चालाई ३३ प्रतिशत छुटको व्यवस्था मिलाईको संचालक लामिछानेले जानकारी दिए ।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले बालबालिकाहरुलाई क्रिकेट खेलप्रति रुचि जगाउन यो किड्स क्याम्प आयोजना गरिएको बताए । उनले यसखालको कार्यक्रमबाट नेपालमा राम्रा खेलाडीहरु उत्पादन गर्न सकिने भएकाले ग्रासरुट क्रिकेटलाई संघले प्राथमिकता दिएको बताए । उनले यस क्याम्पको सुरुवाती दुई संस्करणबाट राम्रो प्रतिक्रिया मिलेको भन्दै आगामि दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

























