स्वास्थ्य
किर्नाले टोकेपछि इबोलाजस्तै रोग लागेर स्पेनमा एक पुरुषको मृत्यु

म्याड्रिड, साउन १७-
स्पेनमा किर्नाले टोकेपछि इबोलासँग लक्षण मिल्ने रोग लागेर एक जना पुरुषको मृत्यु भएको छ । ७४ वर्षका ती पुरुषलाई राजधानी म्याड्रिडमा ला पाज–कार्लोस तृतीय अस्पतालमा आइसोलेशनमा राखिएको थियो । उनको मृत्यु अर्गन फेलियर भएर भएको बताइएको छ । किर्नाले टोकेपछि उनलाई क्रियमियन–कङ्गो हेमोरेजिक फिभर (सीसीएचएफ)भएको थियो ।
यो रोगका लक्षण इबोलासँग मिल्दो जुल्दो छन् । यसमा बिरामीलाई भाइरल हेमोरेजिक फिभर देखिन थाल्छ । यसको शुरुआती लक्षणमा अचानक ज्वरो आउने, काम्ने, बान्ता हुने र पखाला लाग्ने आदि हुन्छ । बिरामीको मूड बद्लिरहने र नभएको कुरा देख्ने जस्ता समस्या पनि केहीमा देखिन्छ ।
बिरामीलाई नाकबाट रगत आउन थाल्छ, आँखाको रक्तकोशिकाहरू चुँडिन्छ, पिसाब वा दिशामा समेत रगत आउन थाल्छ । अहिलेसम्म यसको कुनै खोप वा औषधि नबनेकोले यो रोगको रोकथाम गर्न वा उपचार गर्न गाह्रो भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ । यो रोग लागेका ४० प्रतिशत बिरामीको निधन हुने डब्ल्यूएचओको भनाई छ ।
ज्वरो आएपछि ती पुरुष जुलाई १९ मा अस्पतालमा जँचाउन आएका थिए । जुलाई २१ मा उनलाई सीसीएचएफ भएको पुष्टि भयो । त्यसपछि उनलाई सोही अस्पतालमा आइसोलेशनमा राखियो । सुरुमा उनको अवस्था स्थिर थियो । तर रोग पुष्टि भएको एक हप्तापछि उनको मृत्यु भएको अस्पतालले आफ्नो विज्ञप्तिमा भनेको छ । यो रोग लागेपछि तङ्ग्रिनेहरूमा बिरामी परेको नौ-दश दिनपछि मात्रै सुधारका सङ्केत देखिन थाल्छ । निको नहुने बिरामीको भने प्रायः दोस्रो हप्तामा मृत्यु हुने बताइएको छ । रासस
























