चितवन विशेष

सिमलताल बस दुर्घटना: बेपत्ता यात्रुका १७ जना आफन्तले पाए निःशुल्क खानबस्नको सुविधा

Banner

चितवन, असार २९-

सिमलताल पहिरोमा परी बेपत्ता भएका यात्रुका आफन्तलाई होटल व्यवसायी संघ चितवनमा आबद्ध होटलहरुले निःशुल्क खान बस्नको व्यवस्था गरेका छन् । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार चार यात्रुका १७ जना आफन्तले विभिन्न चार होटलमा निःशुल्क खानबस्नको सुविधा लिएका छन् ।

उक्त बसमा सवार चालकसहित २४ जना बेपत्ता भएका छन् । तीमध्ये चार जनाका १७ जना आफन्तले संघका प्रतिनिधिलाई सम्पर्क गरी निःशुल्क सुविधा लिएका हुन् । होटल गंगोत्रीमा सात जना, होटल ह्याप्पी होममा चार जना, होटल मुक्तिनाथमा चार जना र होटल रोयल सतनचुलीमा दुई जनालाई खानबस्नको व्यवस्था गरिएको हो ।

संघले शुक्रवार नै एक विज्ञप्ति जारी गरी घटनामा बेपत्ता भएका यात्रुका आफन्तलाई चितवनका होटलमा निःशुल्क खानबस्नको व्यवस्था गरिएको बताएको थियो ।

बेपत्ता भएका यात्रुहरु फेला नपर्दासम्म खोजतलासका लागि चितवन आउने उनीहरुका आफन्तलाई निःशुल्क खानबस्नको व्यवस्था गरिने होटल व्यवसायी संघ चितवनका सचिव कृष्ण महतोले जानकारी दिए । बेपत्ता भएका यात्रुका आफन्तले निःशुल्क खानबस्नको लागि ९८५५०१४१८० र ९८५५०५०६८८ मा सम्पर्क गर्न सक्ने उनले बताए ।

आज बिहानको खानाको लागि रामनगर–सिमलताल इकाइसँग समन्वय गरी घटनास्थल नजिकका होटलमा व्यवस्था गरिएको उनले बताए ।

पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार २७ जना पनि बेपत्ता भएका छन् । सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरसहितको टोलीले सिमलतालस्थित त्रिशूली नदी र त्यसको तल्लो तटिय क्षेत्रमा खोजी कार्य गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>