चितवन विशेष
जुगेश्वरले हाम फालेर ज्यान जोगाए, ४ जनाको परिवार बेपत्ता

चितवन, असार २८-
काठमाडौँबाट गौर तर्फ आउँदै गरेको गणपति डिलक्स बसमा सवार ३ जनाले झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन् । बसमा सवार ३० जना यात्रुमध्ये २७ जना अझै बेपत्ता छन् ।
काठमाडौंबाट रौतहटको गौर तर्फ आउँदै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार गरुडा नगरपालिका वडा नं. ९ का सुरज गुप्ता, सोही स्थानका जुगेस्वर राय यादव र देवाहीगोनाही नगरपालिका १ का नन्दन दासले बसको झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन् । यादवका चार जनाको परिवार अझै बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार यावदका १० बर्षिय छोरा, ७ बर्षिय नातिनी, २ बर्षिय नाति र ३५ बर्षिया छोरी सोही दुर्घटनामा परी बेपत्ता भएका छन् ।
यस्तै दुर्घटनामा परेका सुरज गुप्ताका ५५ वर्षीय बुबा परशुराम साह, ५२ वर्षीया आमा मिना देवी, २६ वर्षीया दिदी रिन्कु देवी र २८ वर्षीय ज्वाइँ निरज साह बेपत्ता छन् । अहिले गोताखोरसहितको टोली बसको खोजीमा लागिरहेको जिल्ला प्रशासन कार्यालय चितवनका साहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भूषालले जानकारी दिए । उनका अनुसार सवारी साधनको अझै पत्ता लाग्न सकेको छैन ।
‘बसमा यात्रु कति थिए अझै पुष्टि भएको छैन । गौरतर्फ जाँदै गरेको बसमा पौडिएर ज्यान जोगाएका तीन जनाको भनाईलाई मान्ने हो भने ३५ जनाको हाराहारीमा यात्रु थिए, विरगञ्जबाट काठमाण्डौँ तर्फ जाँदै गरेको गाडीमा २४ जना थिए भन्ने छ । यो अझै पुष्टि भएको छैन ’–भुषालले भने ।

























