खैरहनी
खैरहनी नगरपालिकाको बजेट एक अर्ब एक करोड
खैरहनी,असार ११-
चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार आयोजना गरिएको १५औं नगर सभा मार्फत आर्थिक वर्ष २०८१/८२ को लागि रु एक अर्ब एक करोड ५४ लाख ९५ हजार बजेट सार्वजनिक गरेको हो ।
नगरप्रमुख शशीकुमार खनियाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमका लागि उपमेयर कविता उप्रेतीले बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले कुल बजेट मध्ये चालु खर्च तर्फ रु ४९ करोड ८८ लाख १२ हजार र पुँजीगत खर्च तर्फ रु ५१ करोड ६६ लाख ८४ हजार विनियोजन गरेको छ । आम्दानी तर्फ आन्तरिक आय रु १९ करोड ४७ लाख, सङ्घीय सरकार सशर्त अनुदान रु २७ करोड ९१ लाख ७२ हजार, सङ्घीय सरकार समानीकरण अनुदान १६ करोड १४ लाख, सङ्घीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने रु ११ करोड २८ लाख २ सय ४७, संरक्षित वन रोयल्टी रु ७५ लाख ९९ हजार ७ सय ५३ हुने सड्घीय सरकार विशेष अनुदान रु ३ करोड, संघीय सरकार समपूरक अनुदान १ करोड ५० लाख हुने गरी बजेट ल्याइएको हो ।
त्यस्तै प्रदेश सरकार सशर्त अनुदान रु ५ करोड ९० लाख २० हजार, प्रदेश सरकार समानिकरण अनुदान रु १ करोड ६७ लाख २५ हजार, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने सवारीसाधन कर रु ७ करोड ५० लाख ७८ हजार, प्रदेश सरकार समपूरक अनुदान रु ३ करोड प्रदेश सरकार विशेष अनुदान रु ६५ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने रु ५० लाख, लागत सहभागिता रकम रु ५० लाख र चालु वर्षको अनुमानित बैंक मौज्दात रु १ करोड ७५ लाख गरी कुल जम्मा रु १ अर्ब १ करोड ५४ लाख ९५ हजार अनुमान गरिएको छ ।
खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु ११ करोड ९९ लाख, नगरस्तरीय गौरवका आयोजनामा रु ६ करोड २५ लाख, नगरस्तरीय पूर्वाधारका योजना तथा कार्यक्रम तर्फ रु ३ करोड ८ लाख ३ हजार ३ सय ५०, वडास्तरीय योजना तर्फ रु १७ करोड २६ लाख, विषयगत शाखा तर्फ रु १४ करोड, नगरस्तरीय विभिन्न कोष तर्फ रु १ करोड ५० लाख, समपूरक कोषमा रु ४ करोड ५० लाख, सडक बोर्ड तर्फका आयोजनामा रु ५० लाख, लागत सहभागिता तर्फ रु ५० लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ रु ४१ करोड ९६ लाख ९२ हजार अनुमान गरिएको छ ।
नगरपालिकाले कृषिलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि उत्पादन बढाउँदै रोजगारी सृजना गर्ने र किसानलाई आत्मनिर्भर बनाउन अनुदान र प्रविधिको प्रयोगलाई जोड दिइएको मेयर खनियाले जानकारी दिनुभयो । कृषि क्षेत्रको लागि एक वडा एक कृषि सहकारी, किसान तपाईलाई के चाहिएको छ ?, भूमि बैंक स्थापना, प्राङ्गारिक मल स्रोत केन्द्र स्थापना, खेलबारीमा प्राविधिक सेवा, सिँचाइ प्रणालीमा सुधार, उत्पादन साथमा, अनुदान हातमा लगायतका योजना ल्याइएको मेयर खनियाले बताउनुभयो ।
पशुपंछी विकास तर्फ नगरपालिकाले गाईभैँसीको पकेट कार्यक्रम सञ्चालन गर्ने, बाख्रापालनलाई व्यवसायिक बनाउन बाख्रा पैँचो कार्यक्रम सञ्चालन, पशु आहारमा आत्मनिर्भर बनाउन घाँसको बीउ वितरण गर्ने, उत्पादन बढाउन र बाच्छी पाडापाडी उत्पादन गर्न कृत्रिम गर्भाधान, पशुशाला निर्माणमा प्रोत्सहान गर्ने योजना अघि सारिएको छ । स्वास्थ्य तर्फ जिल्लाका जुनसुकै अस्पतालमा उपचार गर्ने खैरहनीका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने, गरिब तथा विपन्न समुदायका ३०० घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने, बाआमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने, उपमेयर गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
शिक्षा तर्फ सो नगरपालिकाले कक्षामा विद्यार्थी टिकाउदर वृद्धि गर्दै गुणस्तर सुधार कार्यक्रम सञ्चालन, थारु, दलीत, अपाङ्गता, अल्पसंख्यक तथा अति विपन्न परिवारका छात्रा तथा दलीत छात्रहरुलाई स्नातक तहसम्म छात्रावृत्ति प्रदान, आर्थिक अबस्था कमजोर भएका विज्ञान पढ्न चाहनेलाई कक्षा १२ सम्म अनुदान रकम प्रदान गर्ने, विद्यलयमा करेसाबारी निर्माण गरी दिवाखाजा कार्यक्रममा प्रयोगमा ल्याउने, विद्यालयमा फूलबारी निर्माण गर्ने उल्लेख गरिएको छ । पर्यटन विकासतर्फ खैरहनीलाई सौराहाको पर्यटनसँग जोड्ने, थारु, दराई, मगर तथा अन्य जनजातिको संग्रहालय व्यवस्थित गरि पर्यटक आकर्षित गर्ने, होम स्टे मार्फत ग्रामिण पर्यटनको विकास गर्ने, असल पर्यटन अभ्यासलाई कार्यान्वयनमा ल्याउने, बूढीराप्ती खोलामा ब्यारेज निर्माण गरि मोटरबोट सञ्चालन गर्ने जनाइएको छ ।
पूर्वाधार विकासलाई जोड दिँदै नगरपालिकाले सडक निर्माण र स्तरोन्नती, कबर्डहल, नाला निर्माण, बाल उद्यान निर्माणलाई प्राथमिकता दिँदै नगर गौरवका ४२ वटा योजनामा ३४ करोड ७३ लाख ३८ हजार रूपैयाँ बजेट विनियोजन गरेको उपमेयर उप्रेतीले जानकारी दिनुभयो । खैरहनी नगरपालिकाले सबै वडामा ओपन जीम स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।