कालिका
कालिका नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकः करिब ८८ करोड बजेट विनियोजन

चितवन, असार ६–
कालिका नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागी नीति तथा कार्यक्रमसँगै प्रस्तावित बजेट ल्याएको छ ।
नगरपालिकाको दोस्रो कार्यकालको पाँचौ नगर सभा मार्फत आगामी आर्थिक बर्षको लागि राजश्व तथा अनुदान प्राप्तिको अनुमानका आधारमा ८७ करोड ७८ लाख ८१ हजार बजेट नगरसभामा पेश गरिएको छ ।
कुल बजेटमा आन्तरिक आय तर्फ ६ करोड, राजश्व बाँडफाँडबाट १८ करोड २४ लाख ३१ हजार, जनसहभागिताबाट १ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघीय सरकार तर्फबाट ४५ करोड १५ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण बागमती प्रदेश सरकार तर्फबाट ७ करोड ३९ लाख ५० हजार, सडक वोर्डबाट ५० लाख, जिल्ला समन्वय समितिबाट ५० लाख, मालपोत रजिष्ट्रेशन र नदिजन्यवाट ६ करोड र गत वर्षको जिम्मेवारी सर्ने ३ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ ।
नगर सभामा नगर प्रमुख विनोद रेग्मीले आगामी वर्षको नीति तथा कार्यक्रम र उप प्रमुस विमला तामाङले बजेट प्रस्तुत गरेकी थिइन्।
चेपाङ बालबालिकाको शिक्षाको लागि मेयर संग केयर कार्यक्रम, एक वडा एक खेलकुद मैदान, विपन्न समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, कार्यालय देखि खेत सम्म प्रविधिको प्रयोग लगायतका विषयहरु समावेश गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले आगामी आर्थिक बर्षको लागि करिब ८८ करोड बजेट ल्याएको हो ।
नीति तथा कार्यक्रम अन्तर्गत आर्थिक तथा सामाजिक रुपले पछाडि परेका बालवालिकालाई विद्यालयमा ल्याउन, टिकाउन, सिकाउन र विकाउन मेयर केयर कार्यक्रम ल्याइएको मेयर रेग्मीले बताए। सो कार्यक्रम अन्तर्गत छात्राबृति, शैक्षिक सामग्री, पोसाक सहित दिवा खाजा कार्यक्रमलाई प्रभावकारी र आवासीय विद्यालय सचालन गरिने उनले जानकारी दिए। शिक्षाको विकासको लागि किताब विहीन दिन तथा शिक्षालाई प्रविधिसंग जोडेर सीपशाला संचालन गरिने छ ।
खेलकुदको विकासका लागि एक वडा एक खेलमैदान, खुल्ला व्यामशाला, नगर स्तरीय आधुनिक पुस्तकाल तथा स्वास्थ्य तर्फ बृद्धबृद्धाहरुको घरघरमै स्वास्थ्य परीक्षण, नगर भित्रका विपन्न समुदायको निःशुल्क स्वास्थ्य विमा, पोषणमैत्री पालिका घोषण, २०८३ सम्म बालमैत्री नगर घोषणा, उपमेयरसंग बालवालिका कार्यक्रम सार्वजनिक गरिएको छ ।
कृषि र पशुपालनको विकासको गरी उत्पादन बढाउन अधिकतम अनुदान, कार्यालय देखि खेल सम्म प्रविधिको प्रयोग, रैथाने बालिको संरक्षण, कालिकाको सान विषादी मुक्त खानपान, नगर कृषक सम्मान, खाद्य सुरक्षाको लागि मिठो मसिनो खाउ, खाना नफालौ भन्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । सो नगरपालिकाले आगामी आर्थिक बर्षमा २५० जनालाई रोजगारी, कोसेली घर निर्माण, पर्यटन विकास मार्फत स्थानीयको आयआर्जन र चेपाङ बस्तीमा फलफुल खेतीलाई जोड दिएको छ ।