नवलपुर
नवलपुरको धौवादीमा तीन वर्षपछि फलाम उत्पादन गर्न सकिने, अनुमानित लागत ५१ अर्ब

नवलपुर,असार ६-
धौवादी फलाम कम्पनीबाट दैनिक १५ सय टन बिलेट उत्पादन हुने देखिएको छ। धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवदेनले २०८४ सालदेखि उत्पादन नै सुरू गर्न सकिने उल्लेख गरेको छ। यो अध्ययनका लागि एम एन्ड दस्तुर, एस आर के र जेड कम्पनी छनोट भएका थिए। यीमध्ये दुइटा भारतीय कम्पनी हुन् भने जेड नेपाली कम्पनी हो।
करिब आठ महिना संयुक्त रूपमा काम गरेका यी तीन कम्पनीले एक महिनाअघि धौवादी फलाम कम्पनीलाई अध्ययन प्रतिवदेन बुझाएका हुन्। धौवादी फलाम खानीमा आधारित आइरनरस्टिल उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त भइसकेको छ,कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.जनकबहादुर चन्दले भने, सो अध्ययनबाट आइरनरस्टिल उत्पादन गर्न आर्थिक र प्राविधिक रूपमा सम्भव देखिएको छ।
आगामी दिनमा माइनिङ सेस्मिक (उत्खनन गर्दा हुने कम्पन), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत परियोजना प्रतिवदेन तयार गरी उत्पादनतर्फ लागिने उनले बताए। बाँकी काम सकेर उद्योग स्थापना गरी २०८४ सालदेखि उत्पादन नै सुरू गर्ने लक्ष्य छ, उनले भने।
चन्दका अनुसार उद्योग स्थापना भएसँगै दुई हजारदेखि २५ सयले जनाले प्रत्यक्ष र २० देखि २५ हजार जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउनेछन्। अध्ययनले परियोजनाको पुँजीगत लागत ५१ अर्ब २५ करोड रूपैयाँ लाग्ने प्रक्षेपण गरेको छ। यस्तो लगानी असुल भएर कम्पनी नाफामा जान सात वर्ष लाग्ने बताइएको छ।
हालसम्म लगानीको मोडल भने टुंगो लागेको छैन। पहिले ४५ प्रतिशत निजी र ५५ प्रतिशत सरकारले लगानी गर्ने भन्ने थियो। तर ठ्याक्कै यकिन भइसकेको छैन, उनले भने। लगानी मोडलबारे विस्तृतमा छलफल हुने चन्दले बताए।
आइरनरस्टिल उत्पादन क्रममा उद्योगको डिआरआई (डाइरेक्ट रिड्युस आइरन) प्लान्टबाट करिब ७० मेगावाट विद्युत समेत उत्पादन हुनेछ। भविष्यमा हाइड्रोजनको प्रयोग र कार्बन उत्सर्जन न्यूनीकरण गरी हरित स्टिल समेत उत्पादन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
यो उद्योग स्थापना भएपछि अन्य ठाउँमा छरिएर रहेका साना फलाम खानीहरूको पनि सदुपयोग हुने चन्द बताउँछन्। साथै देशमा उत्पादित विद्युत खपत बढ्नेछ। अहिले छिमेकी मुलुक भारतबाट फलाम आयात भइरहेको छ। यहीँ फलाम उत्पादन भएपछि २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ। प्लान्ट जडान गर्न दुई सय २० केभिए प्रसारण लाइनबाट विद्युतको काम अघि बढिसकेको छ। पहाडी क्षेत्रमा फलाम खानीसम्म पुग्ने सडक निर्माण काम पनि अन्तिम चरणमा पुगेको छ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा-५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि खानी उत्खननका लागि प्रक्रिया अघि बढाइएको हो। पूर्व-पश्चिम राजमार्गको डन्डा बजारबाट २७ किलोमिटर उत्तरमा धौवादी फलाम खानी छ। ६ वर्षअघि नै त्यहाँ दस किलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि सरकारले उत्खननका लागि प्रक्रिया अगाडि बढाएको थियो। सरकारले २०७६ सालमै खानीबाट फलाम निकाल्न धौवादी कम्पनी गठन गरेको थियो। सरकारले मुलुकका उद्योगहरूलाई आवश्यक पर्ने फलाम स्वदेशमै उत्पादन गर्ने उद्देश्यले कम्पनी स्थापना गरेको हो।