अन्तर्राष्ट्रिय

जेलबाटै चुनाव लडेका तीन उम्मेदवारले लिइरहेका छन् अग्रता

Banner

काठमाडौं, जेठ २२-

भारतको लोक सभा चुनावमा जेलमा रहेका तीन जना उम्मेदवारले अग्रता लिएका छन्। मंगलबार भारतमा चुनावको मतगणना भइरहेको छ। आजै मतपरिणाम सार्वजनिक हुनेछ।

पछिल्लो मत परिणाम अनुसार जेलमा रहेका तीन जना उम्मेदवारले अग्रता लिइरहेको भारतीय समाचार संस्था द प्रिन्टले जनाएको छ।

भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंह, इन्जिनियर शेख अब्दुल रशिद र साराबजित सिंह खाल्सा जेलबाटै चुनाव लडेका हुन्। तीनै जनाले अग्रता लिइरहेका हुन्।

प्रिन्टका अनुसार अमृतपाल सिंहले पञ्जाबको खादुर शाहिबबाट लोकसभा चुनाव लडेका हुन्। पञ्जाब दे वारिसका चिफ उनी हाल असम जेलमा छन्। सिंहले कंग्रेस आईका उम्मेदवार कुलबिर सिंह जिरालाई पछि पारेका हुन्। सवा १२ बजेसम्मको अपडेट अनुसार सिंह जिरा भन्दा ८७ हजार मतले अगाडि छन्।

अमृतपाल सिंहको अभियानलाई भारतले निस्तेज पार्ने प्रयास गर्दै आएको छ। त्यसैगरी सन् २०१९ देखि जेलमा रहेका रशिदमाथि आतंकवादीहरूलाई आर्थिक सहयोग गरी गैरकानुनी गतिविधि गरेको आरोप छ। रशिद जम्मु र काश्मिरबाट स्वतन्त्र उम्मेदवार छन्।

बरामुल्ला क्षेत्रबाट उनले ७७ हजार मतले अग्रता कायम राखेका छन्। उनका लागि छोरा अब्रारले चुनावी अभियान गरेका थिए। यहाँ नेशनल कन्फ्रेन्सका ओमार अब्दुल्लाह उनका प्रतिस्पर्धी छन्।

पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको बडिगार्ड रहेका बेअंत सिंहका छोरा सराबजीत सिंह खाल्सा पनि जेलमा छन्। बेअंत सिंहले गान्धीको हत्या गरेका थिए। पञ्जाबको फरिदकोटमा उनी आमआद्मी पार्टीका कारामजित सिंह अनमोलभन्दा ४९ हजार मतले अगाडि छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>