अन्तर्राष्ट्रिय

ट्रम्पमाथि गोली प्रहार भएको घटनामा घाइते कोपेन्हेभरको मृत्यु

०
Banner

वासिङ्टन डीसी, असोज १० –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०२४ मा पेन्सिलभेनियाको चुनावी सभामा भएको हत्या प्रयासको घटनामा घाइते भएका जेम्स कोपेन्हेभरको मृत्यु भएको छ । कोपेन्हेभरको परिवारका वकिलले बिहीबार उनको मृत्यु भएको जानकारी दिएका हुन् ।

७६ वर्षीय कोपेन्हेभरको बुधबार अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युको कारण भने सार्वजनिक गरिएको छैन । ट्रम्पले पनि कोपेन्हेभरलाई ‘सच्चा अमेरिकी देशभक्त’ भन्दै श्रद्धाञ्जली दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत कोपेन्हेभर स्वतन्त्रता, न्याय र साझा मूल्यहरूको पक्षमा एकताबद्ध भएर उभिएको बताएका छन् ।

गोली लागेपछि गम्भीर घाइते

१३ जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी सभालाई ट्रम्पले सम्बोधन गरिरहेका बेला नजिकैको भवनको छानाबाट एक बन्दुकधारीले गोली चलाएको थियो । गोली लागेर ट्रम्पको कानमा चोट लागेको थियो ।

घटनामा कोपेन्हेभर र अर्का सहभागी गम्भीर घाइते भएका थिए भने ५० वर्षीय कोरी कोम्पेरेटोरको गोली लागेर मृत्यु भएको थियो । त्यतिबेला ७४ वर्षीय कोपेन्हेभरलाई एलेगेनी जनरल अस्पताल लगिएको थियो ।

करिब दुई सातापछि अस्पतालबाट डिस्चार्ज भएका उनले पछि गोलीका कारण आफ्नो ट्राइसेप्समा गम्भीर चोट लागेको र शरीरमा अर्को गोली अड्किएको बताएका थिए । चोटका कारण उनको स्नायुमा क्षति पुगेको थियो र हिँड्न लौरो प्रयोग गर्नुपरेको थियो ।

मृत्युको कारणबारे अझै स्पष्ट छैन

कोपेन्हेभरका अर्का वकिल डगलस ल्याटोले गोलीकाण्डमा लागेको चोट उनको मृत्युको कारण वा त्यसमा योगदान गर्ने कारक थियो कि थिएन भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । किनकी यस विषयमा कानुनी मुद्दा जारी नै छ ।

कोपेन्हेभर र उनकी पत्नी मेरियनले गत जुनमा अमेरिकी सङ्घीय सरकारविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरूले ट्रम्पको सुरक्षा व्यवस्थामा अमेरिकी सिक्रेट सर्भिसको ‘लापरबाही, असावधानी र गैरजिम्मेवारी’ रहेको आरोप लगाउँदै कोपेन्हेभरले स्थायी तथा गम्भीर चोट बेहोर्नुपरेको दाबी गरेका छन् ।

मुद्दा अझै विचाराधीन छ । पेन्सिलभेनियाका गभर्नर जोस सापिरोले पनि कोपेन्हेभरको निधनप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>