नवलपुर

नेकपा एसबाट फर्किएका श्रीधर पोखरेलले जिते एमाले मकवानपुरको अध्यक्ष

Banner

हेटौंडा,जेठ २१-

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन्। एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा कुल ७७७ प्रतिनिधिमध्ये खसेको ७६५ मत खसेकोमा पोखरेल ३१३ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको दुई वर्षपछि नेकपा एमालेको जिल्ला अध्यक्षमा निर्वाचित हुने अवसर पाएका पोखरेल जिल्लाका प्रभावशाली नेता हुन्। उनले २५ वैशाख २०७९ मा नेकपा एसबाट राजीननामा दिएका थिए। त्यसको भोलिपल्ट नै पोखरेल नेकपा एमालेमा प्रवेश गरेका थिए। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका थिए।

त्यसोत, गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि नेकपा एसले टिकट दिएको थियो। तर निर्वाचन पछि नेकपा एस अझ कमजोर हुने भन्दै उनी उक्त टिकट लत्याएर एमालेमा फर्किएका थिए।

दुई गुट प्रष्ट रहेको नेकपा एमाले मकवानपुरमा पोखरेल संविधान सभा सदस्य कृष्ण दाहाल पक्षका हुन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल पक्षका रघुनाथ खुलालले उम्मेदवारी दर्ता गरेपनि उनले अध्यक्षका अर्का उम्मेदवार इन्द्रमान स्याङतानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी लिएका थिए।

अध्यक्ष पदका लागि ४ जना बीचमा भएको चुनावी प्रतिस्पर्धामा पौडेल निकट मानिएका स्याङतान २६२ मत सहित पराजित भए। गत असोजमा काठमाडौंमा सम्पन्न प्रदेश अधिवेशनमा अध्यक्ष पदमा पराजय भोगेका कृष्ण दाहालले आफ्नो गृहजिल्लामा आफूपक्षका नेताको पोल्टामा नेतृत्व सुम्पिने अवसर पाए। एमाले मकवानपुरको यो अधिवेशनलाई डोरमणि पौडेल र कृष्ण दाहालको भीडन्तको समेत संज्ञा दिइएको थियो।
यता, उपाध्यक्षमा भीमफेदी गाउँपालिकाका अध्यक्ष समेत रहेका हिदम लामा निर्वाचित भएका छन्। कुल मतमा ४७६ मत सहित उनी विजयी भएका छन् भने सचिवमा सीता विष्ट (२९७ मत), उपसचिवमा फुर्वा लामा (२४१ मत), उपसचिव महिलातर्फ आरती पाठक (२४१ मत) निर्वाचित भएका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>