चितवन विशेष
हावाहुरी पोल ढाल्दा भरतपुर र इच्छाकामनाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध

चितवन, जेठ १९-
शुक्रवार आएको हावाहुरीसहितको भीषण वर्षाले भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न क्षेत्रमा सय भन्दा बढी विजुलीका पोल ढालेको छ । विजुलीको पोल ढल्दा त्यस क्षेत्रमा अझैसम्म पनि विद्युत सुचारु गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण, भरतपुर विरतण केन्द्रले बताएको छ ।
सडक छेउका रुख ढलेर विद्युतका संरचनाहरुमा क्षति पुगेको भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले बताए । उनका अनुसार गितानगर, नारायणगढ, क्षेत्रपुर, भरतपुर–४ र ५ नम्वर वडा र इच्छाकामना गाउँपालिकाको इच्छाकामना मन्दिर आसपासको क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।
फेरि हावाहुरी नआएको अवस्थामा आज बेलुकासम्म सबै ठाउँमा विद्युत सुचारु गर्ने लक्ष्य रहेको उनले बताए । पूर्वी चितवनमा पनि हावाहुरीले क्षति पु¥याएको छ । यद्यपी त्यहाँको यकिन विवरण आउन सकेको छैन ।
विद्युत प्राधिकरण, चनौली वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा भने शुक्रवारको हावाहुरीले एउटा मात्रै पोल ढालेको थियो । हावाहुरीले सामान्य क्षति भएको र शुक्रवार नै मर्मत गरेर विद्युत सुचारु गरिएको केन्द्रले बताएको छ ।

























