अन्तर्राष्ट्रिय

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम

०
Banner

नयाँ दिल्ली, जेठ १७-

भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मंगलबार नरेला र मुङ्गेसपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो । मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री बढी रहेको छ ।

तीन करोडभन्दा बढी जनसंख्या रहेको यस सहरमा बुधबार पनि यस्तै तापक्रम हुने पूर्वानुमान गरिएको छ र मानिसलाई सतर्क रहन सूचना जारी गरिएको छ ।

सन् २०२२ को मे महिनामा दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट) पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला बर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ । वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ ।

‘खानेपानीको अभाव’

नयाँ दिल्लीका अधिकारीहरूले गर्मी बढेसँगै पानीका स्रोतहरू पनि घट्दै केही क्षेत्रमा आपूर्ति कटौती हुने र खानेपानीको अभाव हुनसक्ने चेतावनी दिएका छन् । भारतीय जल मन्त्री आतिशी मार्लेनाले पानीको अनावश्यक प्रयोग रोक्न ‘सामूहिक जिम्मेवारी’ लिन आह्वान गरेका छन् ।

“पानीको अभावको समस्या समाधान गर्न हामीले धेरै क्षेत्रमा पानीको आपूर्ति दिनको दुई पटकबाट घटाएर दिनमा एक पटक गर्ने जस्ता धेरै उपायहरू अपनाएका छौं,” आतिशीले भने, “यसरी बचत गरिएको पानीलाई मिलाएर पानीको निकै अभाव भएका र दैनिक १५ देखि २० मिनेट मात्र पानी आपूर्ति क्षेत्रमा पुर्‍याइनेछ ।

मौसम विज्ञान विभागले गर्मीले स्वास्थ्यमा विशेष गरी शिशुहरू, वृद्धहरू र दीर्घकालीन रोगहरू भएकाहरूको स्वास्थ्यमा असर पार्नसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । धेरैले राजस्थान राज्यको तापक्रम ५०.५ डिग्री सेल्सियस मापन गरिएको र त्यहाँबाट आएको उष्ण लहरका कारण तापक्रम बढेको बताएका छन् ।

राजस्थानको मरूभूमि फलोदीमा सन् २०१६ मा ५१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । पश्चिम ब‌ंगाल राज्य र उत्तरपूर्वी राज्य मिजोरममा आइतबार भारत र बंगलादेशमा आएको चक्रवात ‘रेमाल’बाट आएको आँधीबेहरी र भारी वर्षाका कारण ३८ जनाभन्दा बढीको मृत्यु भएको छ ।

बंगलादेशको मौसम विज्ञान विभागले यो चक्रवात ‘देशको इतिहासमा सबैभन्दा लामो मध्ये एक’ भएको बताएको छ । रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>