देश/प्रदेश
कहिलेसम्म हुन्छ भारी वर्षा ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौंअसोज ११-
मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै, वाग्मती र कर्णाली प्रदेशका केही तथा कोसी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आइतबार दिउँसो गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै मधेस र वाग्मती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आइतबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केही तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै, मधेस तथा कोसी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
सोमबार दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका तराई भु-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
सोमबार राति हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मंगलबार राति देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।























