कालिका

सय घरधुरी चेपाङ परिवारलाई खाद्यान्न सहयोग

Banner

कालिका,जेठ १४-

चितवनका सय घरधुरी चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कालिका नगरपालिका वडा नम्वर १० बन्दिपुरे ढाँडमा सोमबार सो क्षेत्रका सय परिवार चेपाङलाई खाद्यान्न चामल वितरण गरिएको हो ।

गामबेसिको चेपाङ संरक्षण केन्द्रको समन्वयमा एशोसियसन अन्नपूर्ण पोखराले वडा नम्वर १० को पाइमाराङ, जिङलाओ, नान्दार, बाँसपानी, बन्दीपुरे टोल, चौकीडाँडा, छेरबाङ लगायतका ठाउँका चेपाङलाई खाद्यान्न सहयोग गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताउनुभयो । उहाँले गिठ्ठा र भ्याकुरको भरमा छाक टार्न बाध्य उनिहरुलाई केही समयको गर्जो टार्ने उदेश्यले सहयोग गरिएको बताउनुभयो । केही दिनअघि मात्र सो ठाउँका चेपाङ समुदाय गिठ्ठा र भ्याकुरको भरमा छाक टारिरहेको समाचार विभिन्न संचार माध्याममा प्रकाशन भएको थियो । ‘पन्ध्र बर्षदेखि चेपाङको संरक्षणको क्षेत्रमा काम गरिरहेको छु,शर्माले भन्नुभयो,यो समयमा उनिहरुका लागि सबैभन्दा धेरै खाद्यान्नको समस्या हुन्छ ।’
एशोसियसन अन्नपूर्ण पोखराका अध्यक्ष धनबहादुर अधिकारीले संस्था मार्फत जुटाएको सहयोग रकमबाट यहाँका विपन्न चेपाङ समुदायलाई खाद्यान्न उपलब्ध गराएको बताउनुभयो । ‘हामी जुटाएको रकम सबैभन्दा समस्यमा रहेका नागरिकहरुलाई उपलब्ध गराउने गरेका छौं,त्यसमा चेपाङ समुदाय सधैं प्राथमिकतामा पर्ने गरेका छन,उहाँले भन्नुभयो ।’ उहाँले बर्षको दुई पटक यहाँ चितवनका चेपाङ समुदायलाई सहयोग गर्ने गरेको बताउनुभयो ।

कालिका नगरपालिका वडा नं–१०, सिद्धिस्थित बन्दिपुरे टोलका कुनाराम चेपाङ खाद्यान्न पाएपछि केही समयका लागि गिठ्ठा र भ्याकुर खोज्न जंगल जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले फागुन लागेदेखि यहाँका चेपाङ समुदायले अघाउने गरी भात खान नपाएको भन्दै मकै नपाक्दासम्म खाद्यान्नको अनिकाल हुने गरेको बताउनुभयो ।

यसअघि आइतबार एशोसियसन अन्नपूर्ण पोखराले इच्छाकामना गाउँपालिका वडा नम्वर ७ गर्दास स्थित राष्ट्रिय माध्यामिक विद्यालयका ३ सय ५० विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग गरेको थियो भने गामबेसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>