चितवन विशेष

आत्मरक्षाका लागि किशोरीलाई मनोसामाजिक परामर्श र प्रतिरक्षा तालिम

Banner

चितवन, जेठ १०-

महिला, किशोरी र बालिकाहरुमाथि यौन दुर्व्यवहार, जवरजस्तीकरणी, घरेलु हिंसा लगायत विभिन्न प्रकृतिका हिंसाका घटना बढ्दै गएपछि किशोरीहरुलाई प्रतिरक्षा गर्न सिकाउने अभियानमुलक कार्यक्रम सुरु भएको छ । आदर्श नारी विकास केन्द्रले संस्थाको ३३औं स्थापना दिवसको अवसर पारेर भरतपुर–१६ स्थित दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयका ९ र १० कक्षाका छात्राहरुलाई आत्मरक्षाका लागि किशोरीसंग मनोपरार्श कार्यक्रमको सुरुआत गरेको हो ।

हिंसाका घटना दिनप्रतिदिन बढ्दा किशोरीहरुको असुरक्षा प्रमुख सवालको रुपमा रहेको संस्थाका संस्थापक एवं महिलाअधिकारकर्मी मीना खरेलले बताइन् । बिशेषगरि १६ वर्ष मुनिका बालिकाहरु यौनहिंसा लगायतको शिकार भइरहेको सरकारी तथ्याकंमा पनि देखिएको छ । अधिकारकर्मी खरेलले स्थानीय तहका आगामी नीति तथा कार्यक्रमहरु मानवीय विकासमा केन्द्र्रित हुनुपर्नेमा जोड दिइन् ।

घटना भइसकेपछि भन्दा घटना हुनै नदिन सचेत हुनुपर्ने तर्फ औल्याउंदै उनले विद्यालयको पाठ्यक्रममै यस्ता विषयहरु समेटिनुपर्ने बताइन् । उमेरसंगै आउने परिवर्तनमा मनलाई नियन्त्रण गर्न नसक्नु साथै सामाजिक सञ्जालको दुरुपयोगले किशोरावस्थाका बालिकाहरु हिंसाको शिकार हुनुपरेको संस्थाको अध्ययनमा उल्लेख छ । कलिलो उमेरमा प्रेममा फस्ने र चाहना अनुसार अगाडि नवढ्दा मानसिक समस्या उत्पन्न भई आत्महानीका घटना हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याकंमा पनि आत्महानीको घटना बढ्दो क्रममा रहेको देखिन्छ । २०८० साउन यता ०८१ बैशाखसम्मको तथ्याकं हेर्दा चितवनमा मात्र ८९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरीको तथ्याकंमा उल्लेख छ ।

विभिन्न प्रकृतिका हिंसाका कारण महिला किशोरी तथा बालबालिकाहरुमा मानसिक समस्या बढ्दो देखिएकाले विशेषगरि किशोरावस्थाका छोरीहरुलाई लक्षित गरि आत्मबल र आत्मरक्षाका लागि अभियानमुलक कार्यक्रमको सुरुआत गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष अमृत हमालले संस्थाको यस अभियानलाई वडाले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे । उनले किशोरावस्थामा हुने प्रेमले व्याल्कमेलिङ रुप लिई यसले समाजमा जटिल समस्या सिर्जना गरेको बताए । भरतपुर १६ का प्रतिनिधिमुलक घटना सुनाउंदै उनले किशोरावस्थाका बालबालिकाहरु माया प्रेम र अन्य गतिविधिमा नलागी भविश्य सोचेर पढाईमा केन्द्रित हुन आग्रह गरे ।

विद्यालयका प्राधानाध्यापक माधव पौडेलले विधार्थीको मनोवल बढाउन र उनीहरुको आत्मरक्षाका लागि आदर्शले ल्याएको अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले संस्थाले गरिरहेको कार्यको प्रशंसा गरे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक लक्ष्मण केसीले आफुमाथि कुनै पनि हिंसा भयो भने नजिकको आफन्तलाई भनेर प्रहरीमा उजुरी दिन आग्रह गरे । सो अवसरमा प्रहरीको टोलीले प्रतिरक्षाको गर्ने विधिहरुको उदाहरण (डेमो) देखाएको थियो । कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता नर्वदा गौडेलले मानसिक स्वास्थ्यको बारेमा सहजीकरण गरेकी थिइन् ।

संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले संस्थाले यो कार्यक्रमलाई जिल्लाका अन्य ११ विद्यालयमा पनि निरन्तर सञ्चालन गर्ने जानकारी दिइन् । स्थापनाको अवसरमा साताव्यापी कार्यक्रम गर्न लागेको संस्थाले महिला किशोरी र बालिकाको संरक्षण, सुरक्षा र न्यायका लागि पैरवीका लागि अभियान सञ्चालन गर्ने योजना बनाएको उनले बताइन् ।

विद्याथीहरुमाझ पहिलो पटक गरिएको आत्मरक्षाको कक्षा निकै प्रभावकारी बनेको छ । विद्यार्थीहरुले आफु तथा परिवार र नजिकका साथीभाईलाई कसैले आक्रमण गरे या गलत तरिकाले शरिरमा छुन खोजे प्रतिरक्षा गर्न सक्ने आँट आएको भन्दै खुसी व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>