चितवन विशेष
चितवनमा आर्टीफिसिएल इन्टेलिजेन्सबारे कार्यशाला

चितवन, जेठ ५-
चितवनमा प्राध्यापकहरुलाई अनुसन्धान र शिक्षण सिकाइमा आर्टिफिसिएल इन्टेलिजेन्सको प्रयोगबारे कार्यशाला भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा अंग्रेजी विभाग सप्तगण्डकी बहुमुखी क्याम्पसले सो कार्यशाला गरेको हो ।
अंग्रेजी विभागका प्रमुख धर्मराज घिमिरेको अध्यक्षतामा भएको कार्यशालामा चितवनका तीन क्याम्पसहरु सप्तगण्डकी, भवानी शंकर र बालकुमारी क्याम्पसका ४९ जना प्राध्यापक तथा कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यशालामा प्राध्यापकहरुले अनुसन्धान र कक्षा कोठामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को कसरी प्रयोग गर्ने भनेर त्रिभुवन विश्वविद्यालय आईसीटी विभागका प्रमुख रोमकान्त पाण्डे र आईसीटी केन्द्रीय विभागका प्राध्यापक पिताम्बर आचार्यले सहजीकरण गरेका छन् । कार्यशालामा मुख्य प्रशिक्षकहरुले एआई शिक्षा, स्वास्थ्य, कृषि, सञ्चारलगायत धेरै क्षेत्रमा प्रयोग गर्न सकिने भन्दै विभिन्न विधि र तरिकाबारे जानकारी दिए । प्रशिक्षक पाण्डेले च्याट जीपीटी, कोपाइलट, जिमीनी, ओपन एआई, क्विलबोट, टिनीओउ जस्ता विभिन्न एप्लिकेसनहरुको बारेमा जानकारी दिँदै क्याम्पसमा शिक्षण सिकाइ प्रक्रियामा प्रयोग गर्न सकिने विभिन्न विधिको बारेमा जानकारी गराए ।
सप्तगण्डकी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले उद्घाटन गरेको कार्यशालामा सापकोटाले आर्टिफिसिएल इन्टेलिजेन्सको प्रयोगमा चुनौती र गौरव दुवै रहेको बताए । उनले भने, ‘ जीवनलाई अर्थपूर्ण बनाउनको लागि यस्ता प्रविधिलाई सही ढंगबाट प्रयोग गर्नुपर्छ । एआईको कारणले भाषाको अनुवादक नचाहिने, कविता, कथा, फोटो सबै रचना गर्न सक्ने अवस्था आएको छ । तर, यसले कहिलेकाहीँ गलत सूचना पनि प्रवाह गर्न सक्ने भएकोले सूचनाको राम्रोसँग परीक्षण गरेर मात्र प्रयोग गर्नुपर्छ ।’ उपाध्यक्ष सापकोटाले एआईको गलत प्रयोग बढ्दै गएमा मानवीय मूल्य र मानवता नै सकिने विभिन्न वैज्ञानिकहरुले बताएको तथ्यहरु प्रस्तुत गरे । हिजोको परम्परागत समाजबाट नेपाली समाज पनि एआईको युगमा प्रवेश गरेको भन्दै सापकोटाले मानवले नियन्त्रण गर्न नसक्ने हो भने एआईले मानव जनशक्तिलाई प्रतिस्थापन गर्दे गलत भ्रम पनि सिर्जना गर्न सक्ने उनले दाबी गरे ।
कार्यशालाको उद्घाटन सत्रमा सप्तगण्डकी रिसर्च म्यानेजमेन्ट सेलका संयोजक डा। कपिलदेव सुवेदीले धमिराले खाएको पुरानो नोटले अबको शिक्षण सिकाइ प्रक्रिया नचल्ने बताए । उनले प्रविधिको प्रयोगबाट कक्षाकोठामा सुधार ल्याउन कार्यशालामा सहभागीलाई सुझाव दिए । उनले प्रविधिको प्रयोगबाट सिकाइमा प्रभावकारिता ल्याउन सकिने जानकारी दिए । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहालले एआईको थुप्रै आलोचना भए पनि समयको माग बनेर आएको विचार राखे । कार्यशालामा अंगेजी विभागका उपप्राध्यापक ओमप्रकाश पाखरेलले स्वागत मन्तव्य राखेका थिए । कार्यशालामा सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मणिराज महतो, प्राध्यापक संघका सभापति रुद्र चालिसे, प्रशासन प्रमुख जगन्नाथ ढकाल, सहायक क्याम्पस प्रमुखहरु पदमलाल भारती र केदारनाथ बरालको सहभागिता रहेको छ ।
सन् १९५८ मा विश्वमा अवधारणा आएको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सन् २००८ बाट लोकप्रिय भएको हो । मानिसको जस्तै गुण देखाउने र मानिसले जसरी नै सिक्न सक्ने र काम गर्न सक्ने नै एआई हो । तर, उपलब्ध तथ्यांकको आधारमा कुनै पनि विषयको परिभाषा र व्याख्या दिने भएकोले एआईले गलत सूचना पनि दिन सक्ने विज्ञहरुले बताए । पछिल्लो अनुसन्धान अनुसार एआईले विश्वमा ७२ लाख रोजगारी गुम्ने र यसकै कारणले एआईसँग सम्बन्धित ९२ लाख रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । सेन्सर, बायोमेट्रिक, फेस आईडीजस्ता विभिन्न कामहरु एआईकै उपलब्धि हुन् ।



























