चितवन विशेष

दमौली–चितवन खण्डको बुद्धसिंह मार्गको स्तरोन्नति गरिँदै

Banner

तनहुँ, जेठ ५-

दमौलीबाट चितवनको घुमाउनेसम्म पुग्ने बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिंह मार्गबाट २५ किलोमिटर दूरी कम पर्ने भएकाले यस मार्गमा स्तरोन्नतिका काम भइरहेको छ ।

व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउनेघाटसम्मको कूल ३४ किलोमिटर लम्बाइमध्ये यस वर्ष १० किलोमिटर पक्की सडक निर्माण गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । यसै चालु आर्थिक वर्षमा सक्ने गरी २०७९ साल भदौ २७ गते निर्माण कम्पनी सफल मैनाचुली जेभीले काम सुरु गरेको हो ।

दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडाको पक्की सडक निर्माण गरिने पूर्वाधार विकास कार्यालयका डिभिजनल कन्सल्टेन्ट इन्जिनियर अमरेन्द्र यादवले जानकारी दिनुभयो । उक्त सडक यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सङ्घीय सरकारबाट सडक निर्माणका लागि रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६१ बजेट विनियोजन गरिएको छ ।

उक्त सडक खण्डमा हालसम्म ३० प्रतिशत कार्य प्रगति भइसकेको छ । अहिले पक्की नाला निर्माण, स्ट्रक्चर र सबग्रेडिङलगायत कार्य भइरहेको इन्जिनियर यादवले बताउनुभयो । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने झोलुङ्गेपुलबाट डो¥याएर मुग्लिङ-नारायणगढ सडकखण्डसम्म लैजान सकिन्छ । पोखरा–नारायणगढ सडकको विकल्प मार्गका रुपमा यस बुद्धसिंह मार्गको स्तरोन्नति कार्य गरिएको हो । घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान सहज तथा समय बचत हुने बुद्धसिंह मार्गका पूर्वअध्यक्ष विश्व बास्तोलाले बताउनुभयो ।

दुईपाङ्ग्रे सवारी साधन भने झोलुङ्गे पुल तरेर मुग्लिङ–नारायणगढ सडक भएर जाने गरेका छन् । बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतैबाट दमौलीतर्फ फर्किन बाध्य छन् । तनहुँ-चितवन जोड्ने गरी घुमाउनेमा गाडी गुड्ने पुल निर्माण भइरहेको छ । पुल बनेपछि पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्ग हुँदै छोटो दूरीमा यात्रा गर्न सकिन्छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार कार्य चलिरहेको छ । राजमार्ग धुलाम्य भएपछि मोटरसाइकल यात्रु भने बुद्धसिंह मार्ग हुँदै आवतजावत गर्न थालेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>