राजनीति
सभामुखका कारण संसद्मा अनपेक्षित स्थिति सिर्जना भयोः महामन्त्री थापा

काठमाण्डौँ, जेठ ३-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा बैठकमा सभामुख देवराज घिमिरेका कारण मुठभेडको अवस्था आएको बताएका छन् । बिहीबार साँझ संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुख घिमिरेले सदनमा जबरजस्ती कार्यसूचीमा प्रवेश गरेपछि अप्रिय स्थिति सिर्जना भएको बताएका हुन् ।
‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ । किनकि सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ’, उनले भने ।
एउटा पार्टीको नेताको आदेशपालकको रूपमा सभामुखको भूमिका रहनु दुखको विषय भएको उनले बताए । ‘यसरी निरन्तर रूपमा जाँदैन भन्ने अपेक्षा गर्छौं । र उहाँको भूमिका जिम्मेवारीपूर्ण रूपमा निर्वाह गर्न सचेत गराउँछौँ’, थापाले भने ।
महामन्त्री थापाले सदन अवरोध गरिराख्ने कांग्रेसको चाहना नरहेको बताए। ‘हामी सदनभित्र पनि कुनै मुठभेड चाहना र प्राथमिकता हुँदै होइन,’ उनले भने, ‘हामी सदनलाई अवरोध गर्ने चाहना भएको भए यतिका दिनसम्म उभिएर बोल्ने, सदनभित्र विधेयक प्रस्तुत गर्न दिने गर्दैनथ्यौं । पहिलो दिनदेखि नै बेल घेर्थ्यौं होला । नीति तथा कार्यक्रम पनि अवरोध गर्थ्यौं होला । यो स्वयम प्रधानमन्त्रीलाई थाहा छ । निश्चित समय राखेर छानबिन गरौँ, गृहमन्त्रीले राजीनामा पनि दिनुपर्दैन भनेर प्रधानमन्त्रीसँगका छलफलमा भनेका छौँ ।’
उनले संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि नबढ्ने पनि बताए । ‘गृहमन्त्री, प्रधानमन्त्रीले बोल्ने कुरा हामीले तोक्ने होइन तर संसदीय छानबिन समिति गठन नहुँदासम्म सदनको कामकारबाही अघि बढ्दैन,’ महामन्त्री थापाले भने ।
महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदलाई आफ्नो कार्यकर्ता सम्झिएको बताए । “एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्यो । एमालेका सांसदलाई उहाँको कुरा हो । हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला,” उनले भने, “उहाँहरूको सम्बन्ध पनि त्यस्तै होला । तर, नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला । सांसदका बारेमा पनि नसोच्नुहोला । हामी तपाईँका कार्यकर्ता होइनौँ । तपाईँले हामीलाई अह्राउने होइन ।”