राजनीति
सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

काठमाडौं, कार्तिक ७-
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा माओवादीले खेलेको भूमिका र विचारलाई अवमूल्यन भए केही समयभित्रै मुलुकमा फेरि नयाँ परिस्थिति निर्माण हुने चेतावनी दिएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ को उद्घाटन गर्दै संयोजक प्रचण्डले सरकार लक्षित यस्तो चेतावनी दिएका हुन् । यतिबेला इतिहासमा तत्कालीन नेकपा माओवादीले खेलेको भूमिका र विचारको महत्त्वलाई अवमूल्यन गर्न खोजिएको प्रचण्डको भनाइ छ ।
विचार, सिद्धान्त र बलिदानको जगलाई कसैले पनि सजिलै मेटाउन नसक्ने उनको भनाइ छ । ‘हामीले जनयुद्ध सुरु गर्दा जम्मा ६० जना थियौँ । त्यही सङ्ख्या बढ्दै ६ सय, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो । र, अन्ततः नेपाल गणतन्त्र बन्यो,’ प्रचण्डले चेतावनी दिँदै भने, ‘आज हाम्रो विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको छ । तर हामीलाई विश्वास छ, केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुनेछ ।’
साथै, उनले नेकपा (एमालें) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने तर तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको पनि बताएका छन् । उनले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएको भन्दै दुई दलको चरित्र नै फरक रहेको दाबी समेत गरे ।
प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको दाबी समेत गरे । लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको प्रचण्डको भनाइ छ ।























