राजनीति
संसद् चल्छ, गृहमन्त्रीले बोल्न पनि पाउनुहुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ ३-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास रहेको बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास रहेको बताएका हुन् ।
नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने उसको माग छ । यही माग राखेर कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।
संसद्को गतिरोध खुलाउने विषयमा आफू शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेको ब्रिफिङ प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसमक्ष गरेका छन् । ‘कांग्रेससँग कुरा भएको छ । संसद् चल्छ । उपप्रधान तथा गृहमन्त्रीले संसद्मा बोल्न पनि पाउनुहुन्छ । त्यसपछि एउटा सकारात्मक सन्देश जान्छ’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।