इच्छकामना

चेपाङ बालबालिका विद्यालय भर्ना गराउन इच्छाकामनाका जनप्रतिनिधिको घरदैलो

Banner

चितवन,बैशाख २२-

चेपाङ बालबालिकालाई भर्ना गराउन र विद्यालयमा नियमित गर्न चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिले घरदैलो गरेका छन । पालिकाका कुनैपनि बालबालिका विद्यालय बाहिर नहुन भन्ने उदेश्यले गाउँपालिकाका टोलटोलमा घरदैलो गरिएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ आफू नियमित रुपमा बालबालिकालाई भर्ना गराउन अनुरोध गर्दै गाउँगाउँ पुगेको बताउनुहुन्छ । उहाँले पछिल्लो एक साता पालिकाको विभिन्न वडामा पुगेर अभिभावकसंग भेटघाट र छलफल गर्नुभएको छ । उहाँले बिशेष गरेर भर्ना नभएका र विद्यालय नियमित नहुने घरपरिवारलाई भेटेर बालबालिका नियमित स्कूल पठाउन अनुरोध गरेको बताउनुभयो ।

उहाँका अनुसार यो अभियान वडा नम्वर १, २ र ६ मा बिशेष रुपमा केन्द्रित गरिएको छ । चेपाङ बालबालिकाई नियमित गर्न छात्रबृत्ती, खाजा,स्टेशनरी र झोला समेत वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले भौगोलिक विकटताका कारण विद्यालय सेवा क्षेत्र सम्म आउन नसक्ने बालबालिकालाई लक्षित गरेर वडा नम्वर १ को भाराङमा आवासिय विद्यालय निर्माण सुरु गरिसकेको बताउनुभयो । उहाँका अनुसार वडा नम्वर २ को वल्र्याङमा आवासिय विद्यालय सञ्चालनमा छ भने कुरिनटारमा निर्माणको चरणमा छ । ‘बिशेष गरेर चेपाङ बालबालिका लक्षित अभियान चलाएका छौं,उहाँले भन्नुभयो,घरपरिवारको समस्या बुझ्ने, सम्झाउने र उनिहरुलाई आयआर्जन संग जोड्ने उपायहरु पनि खोजीरहेका छौं ।’

पालिकाले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापकहरुसंग अन्तरक्रिया गरेर सेवा क्षेत्रमा स्कूल बाहिरका बालबालिका पहिचान गर्न र सहायता सामाग्री दिएर पनि बालबालिका टिकाइराख्ने उपाय खोज्न अनुरोध गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले अभियानमा जनप्रतिनिधिसंगै शिक्षक कर्मचारी पनि खटिएको बताउनुभयो । ‘कक्षा छोडेकाहरुको पनि पहिचान र स्कूलमा अतिरिक्त क्रियाकलापलाई जोड दिएका छौं,उहाँले भन्नुभयो,स्कूललाई उत्पादनसंग जोड्न खाजा करेसाबारी मै उत्पादन गर्न अनुरोध गरेका छौं ।’ उहाँले जेठसम्म दरबन्दी मिलान र विषयगत मिलानको काम पनि सक्ने जानकारी दिनुभयो । उहाँले छात्रबृत्ती र खाजा कार्यक्रम प्रभावकारी बनेको भन्दै भर्ना हुने उमेर समूहका बालबालिका विद्यालय बाहिर नहुने वातावरण गराइने बताउनुभयो । उहाँले समुदायस्तरमा समेत चेतना बढेको भन्दै पढ्ने बानीको बिकास हुँदै गएको उल्लेख गर्नुभयो ।

इच्छाकामना गाउँपालिकामा पचास वटा विद्यालय सरकारी र चार वटा संस्थागत गरेर ५४ वटा विद्यालय छन । गत वर्षको तथ्याङ अनुसार पालिकामा संस्थागतसहित सात हजार ९ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको शिक्षा प्राविधिक सहायक राजेन्द्रबहादुर रोकायाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>