साहित्य
चितवनका समीक्षक रमेश प्रभातको ‘अलिकति फरक कुरा’ विमोचित

चितवन, वैशाख १५-
चितवनका समीक्षक तथा गजलकार रमेश प्रभातको निसमालोचना ‘अलिकति फरक कुरा’ सार्वजनिक भएको छ ।
निसमालोचना कृति ’अलिकति फरक कुरा’को समीक्षक रमेश प्रभात, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं, कवि तथा आख्यानकार एल्बी क्षेत्री, अन्वेषक कर्ण बानियाँ तथा कवि एवम् निबन्धकार सृजन लम्सालले संयुक्तरूपमा घुम्टो उघारेका हुन् ।
विमोचित कृतिका बारेमा सप्तगण्डकी बहुमुखी क्याम्पसका नेपाली विषयका सहायक प्राध्यापक सरोज दवाडीले समीक्षात्मक टिप्पणी गरेका छन् । उनले यस कृतिमा प्रयोग भएको भाषा र शैलीको प्रशंसा गरे । त्यस्तै कवि सुरेन्द्र अस्तफलले कृतिका बारेमा पाठकीय टिप्पणी गरेका छन् । एल्बी क्षेत्रीले यो कृति समीक्षा हो कि समालोचना भन्ने प्रश्न उठाएका छन् ।
उक्त कार्यक्रममा समालोचक एकनारायण पौडेलले निसमालोचना के हो ? समालोचना र निसमालोचनाको अन्तर के हो ? भन्ने कुरामा प्रकाश पार्दै उक्त कृतिका बारेमा छोटो टिप्पणी गरे ।
साहित्य संगम चितवनका अध्यक्ष कवि प्रकाश चापागाईंले आफू कवि भएको कुरा गर्दै समालोचनामा त्यति रुचि नभएको कुरा गरे । कृतिकार प्रभातले आजको समालोचना पाठकमैत्री नभएको हुनाले निसमालोचना लेख्नुपरेको कुरा गरे । यसमा सिर्जनाको सुवास हुने कुरा पनि प्रस्ट पारे ।
श्रीमती रेखा श्रेष्ठ प्रकाशक रहेको उक्त कृतिमा २७ वटा निसमालोचना समेटिएका छन् । उक्त कृतिको मूल्य ३०० रुपैयाँ राखिएको छ । यसको बितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ ।