देश/प्रदेश
‘विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’

महेन्द्रनगर, मंसिर ८-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।
मङ्गलबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित ‘छैटौँ कञ्चनपुर’ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार सधैँ साथमा रहने बताउनुभयो ।
“विकास निर्माणका कार्यहरूलाई वातावरणमैत्री र विपद्–प्रतिरोधी बनाउन तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समाजबीचको त्रिकोणात्मक सहकार्यआवश्यक छ ।” मुख्यमन्त्री भट्टले भन्नुभयो, “विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुनुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र समुदायलाई सक्षम बनाउने कार्य आजको प्रमुखआवश्यकताहो ।”
जोखिम न्यूनीकरण र दिगो विकासका लागि वास्तविक पूर्वतयारी प्रत्येक व्यक्तिको घर, परिवार र समुदायबाटै सुरु हुनुपर्नेमा उहाँको जोड छ ।
“ठूला पूर्वाधार र नीतिगत योजनाको चर्चासँगै समुदायस्तरको सचेतना र पूर्वतयारी अपरिहार्य रहेको छ ।” उहाँले भन्नुभयो, “विशेषगरी कञ्चनपुर जिल्ला बाढी, डुबान, कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको छ ।”
उहाँले प्रत्येक वर्ष वर्षायाममा महाकाली, दोदा, बनरा, जोगबुढा लगायतका स्थानीय नदीनालाहरूले पु¥याउने क्षतिले जनजीवन, कृषि र पूर्वाधारलाई प्रभावित पार्दै आएको बताउनुभयो ।
सङ्घीयताको मर्मअनुसार नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सुरक्षित र उत्थानशील समुदाय निर्माणका लागि कञ्चनपुरका पालिकाहरूले थालेको सामूहिक प्रयास प्रदेशकै लागि अनुकरणीय रहेको बताउनुभयो ।
सम्मेलनमा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सुरक्षानिकायका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
























